Logo

दलाई लामाको जन्मोत्सव काठमाडौंमा सुटुक्क मनाए



काठमाडौं, २३ असार । नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्। न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी दिए ।

कोरोना संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले सोमबार बौद्धस्थित सेटलमेन्ट अफिसमा सट्याकसुटुक्क दलाईको जन्मोत्सव मनाएका हुन्। कार्यक्रममा दलाईका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोसहित १५ जना तिब्बती अगुवा सहभागी थिए। लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले जन्मोत्सव कार्यक्रमको संयोजन गरेको थियो।

संयोजक ग्यात्सोले सामान्य कार्यक्रम गरी धर्मगुरुको जन्मोत्सव मनाइएको बताए। ‘राजनीतिक अभिप्रायले कार्यक्रम आयोजना गरिएको होइन’, उनले अन्नपूर्णसँग भने, ‘धार्मिक आस्थाका कारण लामाको जन्मदिन मनाएका हौं।’

नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चीनविरोधी हुने भन्दै सरकारले तिब्बती शरणार्थीका गतिविधिमा रोक लगाउँदै आएको छ। विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा दलाईको जन्मदिन मनाउने गरेका छन्। उनीहरूले विगतमा कूटनीतिक क्षेत्रका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक स्थलमा कार्यक्रम गरेका थिए। त्यसका लागि सरकारले कुनै वर्ष अनुमति दिन्थ्यो त कुनै वर्ष रोक लगाउँथ्यो। यसपटक आफ्नो कार्यालय परिसरमै कार्यक्रम गरिएकाले सरकारसँग अनुमति नलिएको जनाइएको छ।

बौद्धस्थित तिब्बतीको कार्यालय ९सेटलमेन्ट अफिस०स्थित कम्युनिटी हलमा उपस्थित तिब्बतीले दलाईको तस्बिरमा पूजा गरी सुस्वास्थ्यको कामना गरे। उनीहरूले दलाईका नाममा दीप प्रज्वलन गरे। कोराना भाइरस नियन्त्रण होस् भनेर विशेष पूजासमेत लगाएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ । File photo



प्रतिक्रिया दिनुहोस्