Logo

परम्परा बन्दै असारे विकास



काठमाडौं, असार २३ । वर्षका ११ महिना गुजारेर आर्थिक वर्ष सकिन लाग्दा असारमा जसरी पनि काम गर्ने प्रवृत्ति अहिले पनि घट्न सकेको छैन ।स्थानीय शासन विज्ञहरूले कार्यतालिकाअनुसार काम गर्ने हो भने स्थानीय तहमा असारे विकासलाई रोक्न सकिन्छ तर असार अन्तिम हुुँदा पनि छिटो छिटो काम गरेर बजेट सक्ने काम भइरहेको छ ।

स्थानीय तहमा कार्यतालिकाअनुसार काम नहुँदा अन्तिम चौमासिक चैतदेखि असारसम्म करिब ८० प्रतिशत विकास निर्माणका काम हुँदै आएका छन् । आर्थिक वर्षका ११ महिनामा काम सुस्त गतिमा मात्र हुने र आर्थिक वर्षको अन्तिम चरण असारमा जसरी पनि बजेट सक्ने गरी हतारमा काम गर्ने प्रवृत्तिलाई असारे विकास भन्ने गरिएको छ ।

असारे विकास रोक्न कानुनले नै सङ्घ, प्रदेश र स्थानीय तहकै आआफ्ना सभामा बजेट पेस गर्ने समयसीमा उल्लेख गरेको छ । सङ्घीय सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र स्थानीय सरकारले असार १० भित्र सभामा बजेट पेस गरी असारभित्र परित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

स्थानीय शासनविज्ञ वसन्तराज गौतमले कार्यतालिकाअनुसार काम गर्दा स्थानीय तहमा असारे विकास रोक्न सकिने सुझाव दिए । उनका अनुसार अन्तिम चौमासिक स्थानीय तहमा सबैभन्दा बढी विकास निर्माणका काम हुँदा कतिपय योजना अलपत्र पर्ने र कतिपय विकास निर्माणका काम गुणस्तरहीन हुने गरेकाले कार्यतालिका अनुसार काम गर्न सुझाव दिए । सङ्घीय सरकारले पनि स्थानीय तहलाई कार्यतालिकाअनुसार काम गर्न पटक पटक आग्रह गर्दै आएको छ । त्यसका लागि आवश्यक कानुनी जनशक्ति, साधन र स्रोत उपलब्ध गराउँदै आएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्