Logo

अनियन्त्रित आवतजावतले उपत्यकामा संक्रमण बढ्दै



काठमाडौ, २३ असार । लकडाउन कडा हुन्जेल उपत्यकामा संक्रमित निकै थोरै थिए। त्यति बेला उपत्यकामा सहज रूपमा भित्रिन सक्ने वातावरण थिएन। सरकारले असार १ गतेदेखि मोडल परिवर्तन गर्दै लकडाउन खुकुलो पा¥यो। त्यसपछि उपत्यकामा आवतजावतमात्रै होइन, संक्रमितको संख्या पनि बढ्न थालेको छ। सोमबार एकै दिन उपत्यकामा ५४ संक्रमित थपिए। उपत्यकाको हकमा एकै दिन भेटिएको यो संख्या हालसम्मकै बढी हो। बढी जनघनत्व भएको ठाउँमा संक्रमण बढ्दा त्यसले भयावह रूप लिने सक्ने अवस्था देखिएको छ।

उपत्यकामा बढ्दो संक्रमणको मुख्य कारण सवारीसाधनको चाप र मानिसको भिडलाई मानिएको छ। यातायातकर्मी प्रेमबहादुर थापाले उपत्यकामा निजी सवारीसाधन र मानिसको अनियन्त्रित आवतजावतले जोखिम बढाएको बताए। ‘अहिले एकातिर लकडाउन पनि भनिएको छ, अर्कोतिर जोरबिजोर प्रणालीका आधारमा निजी सवारीसाधन चल्न पनि दिइएको छ,’ उनले भने, ‘तर नियम मिच्ने निजी सवारीसाधनलाई कारबाही पनि गरिएको छैन।’ सरकारले जोरबिजोर प्रणालीमा कडाइ गर्न भने पनि ट्राफिक प्रहरीबाट त्यसको पालना हुन नसकेको खबर आजको नागरिक दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्