नयाँ दिल्ली, २४ असार। भारतमा गत २४ घण्टामा कोभिड–१९ का २२ हजार २५२ नयाँ बिरामी थपिएपछि सङ्क्रमितको सात लाख नाघेको छ । भारत हालसम्म कुल सङ्क्रमितको सङ्ख्या सात लाख १९ हजार ६६५ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
विगत २४ घण्टामा भारतमा थप २२ हजार २५२ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ४६७ सङ्क्रमितको मृत्यु भएपछि कोरोना भाइरसबाट २० हजार १६० जनाको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।
विज्ञप्तिका अनुसार मङ्गलबार बिहानसम्म ४ लाख ३९ हजार ९४८ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।” मङ्गलबारसम्मको विवरणअनुसार भारतमा अझै दुई लाख ५९ हजार ५५७ व्यक्तिले सङ्क्रमित रहेका छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरेहका छन् ।
भारतमा कोरोना भाइरसका कारण सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ र यहाँ दुई लाख ११ हजार ९८७ सङ्क्रमित भएकामा ८७ हजार ६७७ अझ सङ्क्रमित अवस्थामा नै रहेका छन् । महाराष्ट्रमा एक लाख १५ हजार २६२ जना निको भएका छन् । त्यसैगरी महाराष्ट्रमा कोरोना भाइरसको सङ्क्रमणको कारण नौ हजार २६ जनाले ज्यान गुमाएका छन् ।
दोस्रो स्थानमा तमिलनाडु रहेको छ र यहाँ एक लाख १४ हजार ९७८ जना सङ्क्रमित रहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय राजधानीसमेत रहेको दिल्ली प्रदेश रहेको छ । एक लाख ८२३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छन् ।
भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि व्यावसायिक अन्तराष्ट्रिय उडानलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन सङ्क्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगलाई सञ्चालनमा ल्याएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।