Logo

जिल्ला अदालतको फैसला उच्चले उल्ट्यायो, बोक्सीको आरोप लगाउनेलाई ३ वर्ष कैद



काठमाडौं, २४ असार । बोक्सीको आरोपमा एक महिलालाई गोबर खुवाई कुटपिट गर्ने धादिङका चार जनालाई उच्च अदालत, पाटनले जनही ३ वर्ष कैद गरी पीडितलाई आरोपित प्रत्येकबाट एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

न्यायाधीशहरु टेकनारायण कुँवर र वासुदेव आचार्यको संयुक्त इजलासले आरोपित चार जनालाई जनही तीन वर्ष कैद गरी एक लाख रुपियाँका दरले पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो । यसअघि धादिङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रकाश ढुंगानाको इजलासले आरोपित सबैलाई सफाइ दिएको थियो ।

धादिङ जिल्ला सिद्धलेक गाउँपालिका–४ की सेतीमाया लायो मगरलाई २०७५ साल कात्तिक २८ गते चार जना स्थानीयबासी मिलेर बोक्सीको आरोपमा गालामा झापड हानी मुखमा गोबर कोचिदिएको आरोप लागेको थियो ।

ती महिला बस्ने गाउँका धनबहादुर थापा मगर, खोलबहादुर थापा मगर, यमबहादुर थापा मगर र हर्कबहादुर थापा मगरले त्यस बेला ती महिलालाई अपमानजनक र अमानवीय व्यवहार गरेका कारण कानुनबमोजिम सजाय गर्न माग गरी धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सो अदालतले दाबी नपुग्ने उल्लेख गर्दै उनीहरुलाई सफाइ दिएको थियो ।

धादिङ जिल्ला अदालतले सफाइ दिने कार्य नमिलेको उल्लेख गर्दै सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गरेका थिए । सो अदालतले प्रतिवादीमध्येका चारै जनाले सेती मायालाई बोक्सीको आरोपमा अमानवीय कार्य गरेको विभिन्न प्रमाणबाट पुष्टि भएको ठहर गरी उनीहरु सबैलाई तीन वर्षका दरले कैद गर्ने फैसला गरेको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्