काठमाडौ, असार २४ । स्थगित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले निरन्तरता पाउने भएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सहमति भएपछि बुधबारको बैठकले निरन्तरता पाउने भएको हो ।
यसअघि तयारी नपुगेको भन्दै सोमबारको बैठक बुधबारका लागि सारिएको थियो ।“दुई अध्यक्षबीच मङ्गलबार छलफल भएपछि बुधबार स्थायी कमिटी बैठक बस्ने लगभग निश्चित भएको छ”, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यसअघि स्थायी कमिटी बैठक बस्नुअघि दुवै अध्यक्षबीच छलफल गरी निष्कर्ष निकालेर मात्र बैठक बस्ने निर्णय भएको थियो ।
सोही निर्णयअनुसार अध्यक्षद्वयबीच दुई दिनदेखि चलिरहेको छलफल मङ्गलबार पनि जारी थियो । बुधबार स्थायी कमिटी बैठक बस्नुअघि पनि उहाँहरूबीच पुनः छलफल हुने जनाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।