काठमाडौं, असार २४ । लकडाउन खुकुलो पारेपछि कोरोना भाइरसले पछिल्ला दिनमा संसारका बार, रेस्टुरेन्ट, कार्यालय, बजार तथा क्यासिनोमा नयाँ सिकार फेला पारेको छ। यसले घर तथा कार्यालयभित्र हावामा भाइरस तैरेर बस्न सक्छ भन्ने वैज्ञानिकको महिनौंदेखिको तर्कलाई पुष्टि गरेको छ।
हावाबाट भाइरस सर्ने भएपछि यसले संक्रमणको जोखिम अत्यधिक बढाउँछ। त्यति बेला सामाजिक दूरी कायम गर्दागर्दै पनि घर तथा कार्यालयभित्र रहँदा पनि मास्क लगाउनुपर्ने हुन्छ। कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न स्वास्थकर्मीले ससाना कणलाई पनि रोक्नसक्ने एन–९५ मास्क लगाइरहनुपर्ने हुन्छ। विद्यालय, नर्सिङ होम, निजी घर तथा व्यापारिक भवनमा जडान गरेको भेन्टिलेसन प्रणालीलाई हावाको सर्कुलेसन कम हुने पार्न शक्तिशाली फिल्टर जडान गर्नुपर्ने हुन्छ।
विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले भाइरस संक्रमणका मुख्य कारणमा खोक्दा अथवा हाच्छ्युँ गर्दा निस्कने ठूला कणहरु जिम्मेवार रहेका र तिनीहरु छिटै भुइँमा खस्ने बताउँदै आएको छ। तर विश्वका ३२ देशका २ सय ३९ वैज्ञानिकले डब्लुएचओको यो धारणा सच्याउन अनुरोध गरेका छन्। उनीहरुले संंगठनलाई लेखेको पत्र यही साता एक साइन्टिफिक जर्नलमा प्रकाशन हुने बताइएको छ। उनीहरुले ससाना कणले मानिसलाई संक्रमण गर्नसक्ने बताएका छन्।
विश्व स्वास्थ्य संगठनले जुन २९ को कोरोनाभाइरस अपडेटमा मेडिकल उपचारका क्रममा निस्कने ५ माइक्रोनभन्दा साना एरोसोल मात्र हावामा तैरिन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।