काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढिरहँदा चीन बचाऊमा लागेको भन्दै भारतमा चासो बढेको छ । भारतीय मिडियाहरुले चिनियाँ राजदुत होउ याङ्कीको राजनीतिक सक्रियतामा विशेष चासो देखाएका छन् ।
टाइम्स अफ इन्डियाले शिर्षकमै चीन ओलीको बचाऊमा लागेको उल्लेख गरेको छ । चिनियाँ राजदुत होउ याङ्कीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेको भन्दै नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप बढेको भनेको छ । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्न चाहेको भनिएको छ ।
ओलीलाई पार्टीभित्र राजीनामाको दबाब दिइरहँदा राजदुत याङ्कीको भेटहरु भएको उल्लेख छ । ओलीको सत्ताको भविष्य भने स्थायी कमिटी बैठकले निर्धारण गर्ने समाचारले भनेको छ ।
हाल ४४ सदस्य रहेको स्थायी कमिटीमा ३० जना ओलीको राजीनामाको पक्षमा छन् । बहुमत स्थायी कमिटी सदस्य ओलीको विपक्षमा रहेपनि ओली राजीनामा दिन मानेका छैनन् । उनलाई हटाउने प्रयास पनि भइरहेको छ । तर, प्रचण्डलगायत नेताहरु कतिसम्म अगाडि बढ्नेछन् त्यो प्रतिक्षाको विषय भएको टाइम्स अफ इन्डियाले लेखेको छ । नेताहरु आफूमाथि पार्टी विभाजनको आरोप लाग्ला कि भन्नेमा निकै सचेत छन् ।
चीनले नेकपाको संकटमा गहिरो चासो देखाएको छ । उसले पार्टी विभाजन हुन नदिन भुमिका खेलिरहेको छ । चिनियाँ पक्षको सक्रियतालाई नेकपा विभाजन रोक्ने र ओलीलाई पनि संकटमा पर्न नदिन हो भन्ने टाइम्स अफ इन्डियाको निष्कर्ष छ ।-File Photo