काठमाडौँ, २५ असार । मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको मनसुन सक्रिय भएपछिकोअहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ ।
असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी दिनुभयो ।
“मनसुन शुरु भएदेखि नै पानी परिरहेको छ, पानीको सतह माथि आइसकेको र जमिन गलिसकेको छ, जुलाई र अगस्टमा मौसम थप सक्रिय हुन्छ, अबको चार दिन अलि बढी पानी पर्नसक्छ”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार अहिलेसम्म औसतभन्दा धेरै पानी परिसकेको छ ।
त्यसैले सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
सरकारले यसवर्ष असारमा आधारित विपद्को सूचना प्राणाली व्यवस्थापन गरिएको छ । त्यसैले पानीपर्ने सम्भावना छ मात्रै नभनी कुनकुन क्षेत्रमा पानी पर्नेछ, कस्तो असर गर्न सक्छ, त्यसबाट कसरी सावधानी अपनाउने भनेर सार्वजनिक सूचना दिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।
मुलुकमा गएको वैशाखदेखि अहिलेसम्म पर्याप्त पानी परिसकेको छ । प्रि–मनसुनमा नै भारी वर्षा भएकाले जमिन गलिसकेको सन्दर्भमा ठाउँठाउँमा बाढी पहिरोले मानवीय क्षति पु¥याइसकेको छ । मनसुनको शुरुआतमा नै पहिरोले धेरै मानिसको ज्यान लिइसकेको छ भने घरबारविहीन बनाएको छ । पर्वत र बझाङको ठूलो पहिरोमा मात्रै १५ जनाको ज्यान गएको छ । प्राधिकरणको अभिलेखअनुसार वैशाखदेखि अहिलेसम्म कूल ८०४ वटा विपद् घटनामा ११४ जनाको मृत्यु भएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।