Logo

नेपालमा कोरोना मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम



काठमाडौँ, २५ असार। नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कबमोजिम नेपालमा प्रति दशलाखमा एक जनाको मात्रै मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पाकिस्तान, अफगानिस्तान, भारत, मल्दिभ्स र बङगलादेशको अपेक्षा नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर कम रहेको छ । दक्षिण एसियामा प्रतिदश लाखमा सबैभन्दा बढी मृत्युदर हुने पाकिस्तान र अफगानिस्तान छन् । पाकिस्तानमा प्रति दश लाखमा २२ जना र अफगानिस्तानमा २४ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा भने प्रति दश लाखमा १५ जना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालमा आइसोलेसन, क्वारेन्टिन वा अस्पतालमा अन्य रोगका लागि भर्ना भई मृत्यु भएको खण्डमा स्वाब परीक्षण गरी कोरोना सङ्क्रमणले मृत्यु भएरनभएको पुष्टि गरिन्छ । क्वारेन्टाइन वा आइसोलेसन बाहिर मृत्यु भएको खण्डमा लक्षण देखिएपछि मात्रै स्वाब परीक्षण गरिदै आएको छ । तर स्वास्थ्य मन्त्रालयले नै नेपालमा ९९ प्रतिशत लक्षणविहीन सङ्क्रमित रहेको जनाएको छ । जसले यथार्थ मृत्युदर बढ्ने अनुमान गरिएको छ ।

अफगानिस्तानमा हालसम्म ३३ हजार ५९४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सङ्क्रमितमध्ये ९३६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा भने दुई लाख ३७ हजार ४८९ जना सङ्क्रमित रहेकोमा चार हजार ९२२ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा प्रति दशलाखमा १३ जनाको मृत्यु भएको छ । भारतमा सात लाख ४२ हजार ४१७ जना सङ्क्रमित छन् ।
मृतकको सङ्ख्या दक्षिण एसियामै सबैभन्दा बढी भारतमा छन् । मृतक सङ्ख्याको आधारमा भारत आठौं सबैभन्दा बढी प्रभाबित राष्ट्र हो । भारतमा २० हजार ६४२ जना सङ्क्रमितको मृत्यु भएको छ ।

कोरोनाभाइरस सङ्क्रमणले थलिएको अमेरिका, ब्राजिलसहित यूरोपेली राष्ट्रहरूको अपेक्षामा पनि नेपालमा मृत्युदर थोरै रहेको मन्त्रालयले जनाएको छ । अमेरिकामा सङ्क्रमित हुने २९ लाख ९६ हजारभन्दा बढी हुँदा एक लाख ३१ हजार ४८० जनाको मृत्यु भएको छ । ब्राजिलमा १६ लाखभन्दा बढी सङ्क्रमितमध्ये ६६ हजार ७४१ जनाको मृत्यु भएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot