Logo

ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ- मणि थापा



काठमाडौं, २५ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य मणि थापा कुनै हालतमा पार्टी विभाजन हुन नहुनेमा छन् । उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति निकालेर जाने विश्वास व्यक्त गरेका छन् । त्यसका लागि सुत्र पनि प्रस्तुत गरेका छन् । यसै सेरेफेरोमा नेता थापासँग ऋषि धमलाले गरेको कुराकानीः
नेकपाभित्रको विवाद कहाँ पुग्यो ?
पहिला झगडा गर्ने अनि पुरानै ठाउँमा गएर मिल्ने नेपालीहरुको परम्परा हुन्छ । त्यही परम्पराअन्तर्गत एकतामै टुंगिन्छ भनेर हामीले पहिलादेखि भन्दै आएका थियौं त्यही दिशातिर जाँदै छ ।
प्रचण्ड र केपी शर्मा ओलीबीचमा कुरा मिल्छ ?
कुरा नमिलेर कहाँ जाने ? मिल्नुबाहेक उहाँहरु कहीं जाने ठाऊ छैन ।
हिजो प्रधानमन्त्रीले दुवै पद नछोड्ने भनेपछि प्रचण्ड उठेर हिड्नुभयो नि ?
तीन दिनदेखि दुई नेताबीचमा लगातार छलफल भएको छ । यो पार्टी एकताको सुत्रधार पनि उहाँहरु नै हो । त्यसैले उहाँहरुबीच व्यापक रुपमा छलफल र बहस हुनुपर्छ । पार्टी मिल्नुपर्छ भन्ने आम मान्यता छ । त्यही अनुरुप दुई नेताहरु बस्नुभएको छ । लामो र तीतो झगडा भएकाले संलिन केही समय लाग्ला । उहाँहरुले नै यसको हल गर्नुपर्छ । त्यसको विकल्प छैन । यो इतिहासको संगीन मोडमा पार्टी एकतालाई पूर्णता दिएर नयाँ पुस्तालाई सिंगो पार्टी हस्तान्तरण गर्नुपर्छ ।
केपी ओलीले प्रचण्डलाई प्रधानमन्त्री हुने भए कुर्नुस्, एक्लै अध्यक्ष हुने भए महाधिवेशन पर्खनुस् अहिले म दुवै पद छोड्दिन भनेपछि वार्ता बिना निष्कर्ष टुंगियो । अब के हुन्छ ?
अहिले केही पनि हुँदैन । आफ्ना आफ्ना अडानहरु राख्ने कुरा आफ्नो–आफ्नो ठाउँमा छँदैछ । अहिले एक अर्काको बीचमा अवश्वास बढेको हो । हामीलाई पार्टी एकता गर्नेबेलामा पनि थाहा थियो । पूर्व एमाले र पूर्व माओवादीबीचमा ठूला–ठूला डिफेन्सेसहरु छन्, त्यसलाई कम गर्दै एउटा सिंगो कम्युनिस्ट आन्दोलनको आवश्यकता छ भन्ने विचारको आधारमा आयौं । अब हामी फर्किने कहाँ हो भने पार्टी एकता गर्दा जुन म्यान्डेटहरु बनाएका थियौं । त्यसैको जगबाट फेरि पार्टी एकतालाई कम्प्लीट गर्नुपर्छ भनेर त्यहाँ दुई नेताहरुको बीचमा एक आलोपालोको कुरा थियो । अर्को एकजनाले प्रधानमन्त्री चलाउने र अर्को नेताले कार्यकारी अध्यक्ष चलाउने सहमति भएको थियो । यी दुई नेताबीचमा सहमति हुन्छ । देशभरका नेता, कार्यकर्ताहरुको भनाइ पनि अहिले झगडा गर्ने बेला होइन भन्ने छ । अहिले राष्ट्रियता संकटमा छ । वाह्यशक्तिको पनि हस्तक्षेप बढिरहेको छ त्यसैले यो बेलामा आन्तरिक झगडा गर्नुहुँदैन भन्ने मान्यता छ । त्यसलाई टेकेर सुझबुझका साथ अगाडि जानुहुन्छ भन्ने लाग्छ ।
मैले पाएको सुचना अनुसार प्रधानमन्त्रीले पुरानै बटमलाइन सुनाएपछि प्रचण्डले अब वार्ता नहुन पनि सक्छ भनेर निस्किनुभयो नि ?
मैले पाएको सूचना चाहीं त्यस्तो होइन । मैले पाएको चाही पहिला उहाँहरुबीचमा छलफल भएको छ, त्यसबाट जुन सहमति भएको छ त्यसलाई टेकेर पार्टी र सरकारबीचमा सही ढंगले काम गर्ने भनेर । सरकार र पार्टीको कामहरुलाई पनि व्यवस्थित गर्ने । कोरोनालगायत जनताका एवत समस्या समाधान गर्ने गरी उहाँहरुबीचमा छलफल भएको छ । त्यो छलफलले दुरी बढाएको होइन घटाएको भन्ने मलाई लाग्छ ।
प्रधानमन्त्री र प्रचण्डबीचको अडान कायमै अनि कसरी सहमति हुन्छ ?
यी दुईटाको बीचबाटै सहमति हुन्छ । उहाँहरुको एक पद त छँदैछनि । प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले चलाउनुभएको छ । कार्यकारी अध्यक्ष कमरेड प्रचण्डले चलाउनुभएको छ । अहिले उहाँहरुबीचमा मात्रै छलफल भइरहेको छ । त्यो स्थायी कमिटि हुँदै केन्द्रीय कमिटिमा आइपुग्छ मिल्छ । अहिलेसम्म अमूर्त ढंगले कुराकानी भएका छन् त्यसलाई मूर्त रुप लिनुपर्छ । र, उहाँहरुले देश र जनताको लागि त्याग गर्नुपर्ने हुन्छ । अहिले नेकपाभित्र भएको झगडा जनतालाई मनपरिराखेको छैन ।
जनताहरु भोकभोकै बस्नुपर्ने अवस्था छ, उपत्यकामा पनि कोरोनाको भयावह स्थिति भइराखेको छ अनि तपाईंहरु किन झगडामा व्यस्त हुनुभएको ?
अहिले जनताप्रति जुन खालको दायित्व हुनुपर्ने हो । त्यो नभएर नेकपाभित्र वैचारिक विचलन भएको छ । नेताहरुको वैचारिक विचलनबाट जनताहरु आक्रन्त छन् । पार्टीभित्रको झगडा देश र जनता भन्दा पनि आत्मकेन्द्रित छ । देश अहिले यस्तो संकटमा छ । भारतसँग नक्साको बारेमा टसल भइरहेको छ । यो बेलामा पार्टीको आन्तरिक झगडालाई अगाडि ल्याउनुभन्दा मिलेर जानुपर्ने बेलामा हामी आफ्नै झगडाभित्र रुमलिएर बस्यौं । समस्याहरु नभएको होइनन्, पार्टीभित्र गम्भीर समस्याहरु छन् । त्यसलाई व्यक्तिविशेष नभएर देश र जनताको समस्यामा जोड्नुपर्छ ।
तपाईंहरुको छलफलको एजेन्डा त कसलाई प्रधानमन्त्री बनाउने, कसलाई पार्टी अध्यक्ष बनाउने भन्नेतिर गयो नि ?
हो, पार्टीलाई सिद्धान्त, निष्टा र विचारमा हिडाएर राष्ट्रलाई कसरी निकास दिने भन्ने प्रश्न उठेको छ । कार्यकर्ताले जे प्रश्न गरेका छन् त्यही प्रश्न जनताले पनि बुझेको छ । पार्टीभित्र समस्या नभएका होइनन्, तर अहिले मेरो भविश्य भन्ने नेताहरुले झगडा होइन एकता गरेर जनता र पार्टीभित्रको समस्यालाई समाधान गर्नेतिर लाग्नुपर्छ । अहिले जसरी भारतसित सीमा विवादको लडाइँ परिरहेको छ । त्यसलाई जनतालाई एकताबद्ध गरेर समाधान गर्नुपर्नेमा हामीले अहिले ठीक उल्टोदिसातिर लागिरहेका छौं ।
तपाईंले त अहिलेको अवस्थामा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्नुहुँदैन भनिरहरनुभएको छ नि ?
मैले त्यसो भएको होइन । मैले त हिजो पार्टी एकता गराउने बेलामा उहाँहरु दुई नेताले के प्रिन्सिपल बनाउनुभयो । त्यो मूख्य जग हो । त्यसमा टेकेर दुई नेताबीच समझदारी भएर जे निर्णय हुन्छ । त्यसलाई हामीले पालना गर्नुपर्छ । उहाँहरुबीचको एकता नै दुई पार्टीबीचको उकता हो ।
त्यसोभए केपी ओली प्रधानमन्त्री र प्रचण्ड कार्यकारी पार्टी अध्यक्ष हुनुपर्छ भन्न खोज्नुभएको हो ?
हो, एउटाले प्रधानमन्त्री लिनुहोस्, अर्कोले कार्यकारी अध्यक्ष जिम्मेवारी लिनुहोस् । आलोपालोमा जाने भए पनि जानुहोस् । तर, समझदारीमा हुनुपर्यो, उहाँहरु बीचमा झगडा हुनुभएन । अब अढाई वर्ष बाँकी छ त्यसमा आलोपालो गरेपनि हुन्छ, तर सहमतिमा ।
त्यसोभए प्रधानमन्त्री आलोपालोमा जानुपर्छ भन्ने पनि तपाईंको प्रस्ताव हो ?
उहाँहरु मिल्ने विषयहरु धेरै छन् । तर, अहिले गणितको आधारमा हुँदैन । बहुमत र अल्पमतको आधारमा हुँदैन । दुवैले समझदारी गरेर अगाडि बढ्दा हामीलाई केही फरक पर्दैन । जे गरेपनि एकता गरेर जानुप¥यो । माधव नेपाल, झलनाथ खनाल कमरेडलाई पनि मिलाएर अगाडि जानुपर्छ । त्यसैले अहिले सबै नेताहरुलाई समेटेर अगाडि जाने एउटा नीतिको आवश्यकता छ । त्यो नभएर मेरो गोरुको बाह्रै टक्का भनेर नेताहरु लागिरहनुभएको त्यो पार्टी, देश र जनताको हितमा छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot