Logo

छोटो दूरीको सार्वजनिक यातायात चल्ने



काठमाडौँ, २६ असार। बन्दाबन्दीका कारण तीन महिना १५ दिन बन्द भएका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना विषाणुबाट बच्ने स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सवारी सञ्चालन गर्न पाइने मन्त्रिपरिषद्को निर्णय छ ।

बिहीबारको पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा। युवराज खतिवडाले छोटो दूरीका सार्वजनिक सवारी सञ्चालन खुला गरिएको जानकारी दिनुभयो । सरकारको निर्णयअनुसार अब काठमाडौँ उपत्यकाबाहेक जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन हुनेछन् । एक जिल्लाबाट अर्को जिल्ला जान भने पाइने छैन । लामो दूरीलाई खुला गरिएको छैन ।

सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा यात्रु चढाउनुपर्ने छ । सिटको एउटा पङ्क्तिमा एक जना मात्र बस्न पाउने छन् । दुवै सिटमा यात्रु राख्न पाइने छैन । यात्रुलाई मास्क अनिवार्य गरिएको छ भने ढोकामा सेनिटाइजर अनिवार्य राख्नुपर्ने छ । चालक र सहचालकले मास्क र पन्जा लगाउनुपर्ने छ ।

दिनको एकपटक सवारीसाधनलाई निसङ्क्रमण गर्नुपर्ने छ । तर यातायात व्यवसायी भने सरकारको निर्णयप्रति अन्योल देखिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले ट्याक्सी र छोटो दूरीको भए पनि खुला गर्नु सकारात्मक भएको तर स्वास्थ्य सावधानीको अवस्था के हुने अन्योल भएको जनाएको छ ।

महसङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, “५० प्रतिशत भाडा वृद्धि गरेर सामाजिक दूरी कायम गर्नु ठीक छ तर बैङ्कको किस्ता र ब्याजको भुक्तानी अवधिबारे केही भनिएन । हामीले भोगेका समस्याको समाधान भएको छैन । गाडी निकाल्दैमा हाम्रो समस्या समाधान हुँदैन । ” लामो दूरीको सवारीको भाडाबारे स्पष्ट हनुपर्ने महासङ्घले जनाएको छ । उपाध्यक्ष स्वाँर भन्नुहुन्छ, “ट्याक्सीको सवालमा सरकारको निर्णय ठीक छ तर हामी के गर्ने भन्ने कुरा भोलि १ः०० बजे आकस्मिक बैठक बोलाएका छौँ, महासङ्घले बैठक बसेर निर्णय गर्छ । सरकारले आफ्नोतर्फबाट गरेको प्रयास राम्रो छ । ” यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्