काठमाडौं, २६ असार । निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनले आज शुक्रबारसम्म कुनै निर्णय नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
दुई संस्थाले आफूहरुको मागप्रति सरकारले बेवास्ता गरेको उल्लेख गर्दै आन्दोलन गर्नुको विकल्प नभएको बताएका छन् । उनीहरुले सरकारको आश्वासन कुरेर आफूहरु हैरान भएको बताएका छन् ।
शिक्षामन्त्रीको आग्रहलाई स्वीकारेका प्याब्सन र एन प्याब्सनले आज शुक्रबारसम्म कुनै निर्णय नभए विद्यालय ठप्प पार्ने योजनासहितको कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । उनीहरुले कुनै पनि निजी शिक्षण संस्थाले पढाउन नपाउने गरी आन्दोलन गर्ने जनाएका छन् ।
प्याब्सन अध्यक्ष टीकाराम पुरीले आज शुक्रबारसम्म कुनै निर्णय नभए सबै विद्यालय बन्द गरेर आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अति भयो, कति दिनसम्म पर्खने, अब हामी कसैको आश्वासन नमानी अनलाइन कक्षा बन्द गरेर आन्दोलनमा जानेछांै ।’
उहाँले निजी मात्र नभई गुठी र अन्य विद्यालयको समेत पठनपाठन ठप्प पार्ने तयारी भइरहेको बताउनुभयो । यही २२ गते मन्त्री पोखरेलसहितको सरोकारवाला निकायसँग भएको बैठकमा मन्त्रालयले निजी विद्यालयले पेस गरेको मागको विषयमा छलफल गरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड उच्चस्तरीय समितिमा सिफारिस गर्ने निर्णय भएको समाचार आजको समाचारपत्रले प्रकाशन गरेको छ ।