Logo

प्यालेस्टिनी भूमि इजरायलमा गाभ्ने योजना स्थगित गर्न फ्रान्सको आग्रह



२६ असार : फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पश्चिम किनाराको प्यालेस्टिनी भूमि इजरायलमा गाभ्ने योजना अघि नबढाउन आग्रह गरेका छन् ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयका अनुसार दुबै नेताबीच भएको टेलिफोन सम्बादका क्रममा राष्ट्रपति म्याँक्रोले उक्त आग्रह गरेका हुन् ।

राष्ट्रपति म्याँक्रोले इजरायली कदम अन्तर्राष्ट्रिय कानुनको बर्खिलाफ हुने तथा प्यालेस्टाइन र इजरायलबीच दिगो शान्तिका लागि दुई–राज्य समाधानमा खतरा उत्पन्न हुने बताएका छन् ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले पश्चिम किनारा क्षेत्रभित्र रहेका यहूदी बस्ती तथा रणनीतिक महत्वको जोर्डान उपत्यकालाई इजरायलमा गाभ्ने योजना अघि सारेका छन् । उक्त विवादित कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा अघि सारेको मध्यपूर्वको योजनामा समेत राखेर अनुमोदन गरेका छन् ।

इजरायल सरकारले उक्त प्यालेस्टिनी क्षेत्रलाई यही जुलाई १ देखि इजरायलभित्र गाभ्ने समय तोकेको छ । यस क्षेत्रमा सन् १९६७ को छ–दिने युद्ध पश्चात इजरायली नागरिकहरु बसोबास गर्न थालेका थिए ।

फ्रान्स र जर्मनीका विदेश मन्त्रालयहरुका साथै इजिप्ट र जोर्डनले कुनै किसिमको कब्जा योजना अघि बढे द्विपक्षीय सम्बन्धमै असर पर्न सक्ने चेतावनी दिएका छन् । मध्यपूर्वमा इजिप्ट र जोर्डनसँग मात्र इजरायलको शान्ति सम्झौता भएको छ ।

राष्ट्रपति म्याँक्रोले नेतन्याहूलाई इजरायलको सुरक्षाप्रति फ्रान्स जहिल्यै प्रतिबद्ध रहने विश्वास दिलाएका छन् ।एएफपी



प्रतिक्रिया दिनुहोस्