Logo

विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने



काठमाडौँ, २७ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बताउनुभएको छ । मन्त्री यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार तथा फिर्ता ल्याउनुपर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषद्बाट स्वीकृति हुनासाथ ती श्रमिकको उद्धार सुरु गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, निर्देशिका तयार गरी अन्तिम स्वीकृतिका लागि अघिल्लो पटक नै मन्त्रिपरिषद्मा पेस भइसकेको छ, अब बस्ने मन्त्रिपरिषद्बाट स्वीकृत हुन्छ र स्वीकृत हुनेबित्तिकै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर स्वदेश फर्काउन सुरु गर्छौं । मन्त्री यादवले विदेशमा विभिन्न कारणले जेलमा परी अप्ठ्यारोमा परेका नागरिकको उद्धार गर्ने काम अहिले पनि गरिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, अब सम्मानित अदालतको आदेशको सम्मान गरेर कोष रकम प्रयोग गरेर उद्धार सुरु गर्छौं । सम्मानित अदालतको आदेशले पनि विदेशमा समस्यामा परेर टिकट काट्नै नसक्ने नागरिकलाई सरकारले उद्धार गर्ने भएकाले यसैलाई आधार बनाएर निर्देशिका बनाएको उहाँले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको आदेशपछि सरकारले उद्धारसम्बन्धी निर्देशिका बनाएर विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई सरकारी खर्चमै उद्धार गर्ने तयारी गरिरहेको छ । यसअघि कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपाली स्वदेश फिर्ताको प्रक्रिया सुरु भएसँगै विभिन्न २३ हजार नेपाली नागरिक स्वदेश फर्किसकेको दाबी मन्त्रालयले गरेको छ ।

हाल स्वदेश फर्किएकामध्ये अधिकांश आफैँले टिकट काटेर आएका छन् भने केही मात्रै रोजगारदाताले टिकट काटिदिएर फर्किएका छन् । कुवेत सरकारले भने आममाफीमा सहभागी झन्डै तीन हजार नेपाली श्रमिकलाई निःशुल्क स्वदेश फर्काउने व्यवस्था गरेअनुरूप स्वदेश फर्किएका खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्