कास्की, असार २७ । जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका परिवारलाई प्रति मृतक एक लाखको दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले मृतकका परिवारलार्ई प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०७४ अनुसार राहत उपलब्ध गराउने तथा घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने एवं पीडित घर परिवारलाई सरकारी मापदण्डबमोजिम राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यसैगरी खोजी र उद्धार कार्य एवं सुरक्षितरुपमा स्थानान्तरण कार्यका लागि जिल्लास्थित सबै सुरक्षा निकायलाई आवश्यक खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन अनुरोध गर्ने बैठकले निर्णय गरेको जनाइएको छ । बिहीबार रातिको पहिरोमा परी जिल्लामा पोखरा महानगरपालिका–१८ गोठादीमा पाँच तथा पोखरा–२६ लेखनाथ र पोखरा–२५ हेमजामा एक एकजनाको ज्यान गएको थियो । पहिरोमा परी ११ जना घाइते भएका थिए । रासस