वाशिङ्टन डीसी, असार २७ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना एकजना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजायलाई घटाइदिएका छन्।
वाशिङ्टन डीसी कोर्ट अफ अपिल्सले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पको यस्तो घोषणा बाहिर आएको हो।
अमेरिकी कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा स्टोनलाई दोषी ठहर्याइएको छ।
सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएर सजाय पाउने स्टोन ट्रम्पका छैटौँ सल्लाहकार हुन्।
बीबीसीका अनुसार ६७ वर्षीय स्टोनले आगामी मङ्गलबार जोर्जियाको एउटा सङ्घीय जेलमा उपस्थित हुनुपर्ने थियो।
ह्वाइट हाउसले स्टोन पहिले नै धेरै पीडित भइसकेको पनि जनाएको छ। स्टोनले एपीलाई जनाए अनुसार सजाय कम गर्नेबारे ट्रम्पले उनलाई शुक्रवार फोन गरेका थिए। उनले उक्त निर्णयको खुसीयाली मनइरहेको बताए।