-डेभिड पाण्डे
जब समयले
उठाउनै नसक्ने
भारी बोकायो ।
तब भारी, भारी जस्तो बनेन !
बन्यो त केवल जिन्दगी जस्तो ।
जब आफ्नाहरूले
लगाइदिए
सम्बन्धको पूर्णबिराम !
तब हजारौको भिडमा पनि
भिड भिडजस्तो लागेन !
लाग्यो त केवल जिन्दगी जस्तो ।
जब म रमाउन खोजेँ
बादलका बस्तिहरूमा
फाट्न लाग्यो बादल
बादल केवल बादल मात्र फाटेन
फाट्यो मन पनि !
तबबाट बादल, बादल जस्तो लागेन
लाग्यो त जिन्दगी जस्तो !
जब सूर्य
पश्चिमको डाँडोतिर पुगेर
टुक्रुक्क थकाइ मार्न लाग्छ
सोही बेला
मेरा स्नायुहरू
डुबुल्की मार्न पुग्छन् सोमरसतिर !
तब सम्झनाले मन ठोक्छ
हातले टेबल हान्छ
टाउकोले भित्ता ठोक्छ
लाग्छ उबेला जिन्दगी वास्तवमा जिन्दगी रहेनछ !
रहेछ केवल एउटा सास फेरिरहने मुर्दा !