Logo

भारतबाट आउने कम भएसँगै सङ्क्रमण दर घट्यो



धनगढी, २८ असार। सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दरमा कमी आएको छ । भारतबाट फर्किनेको सङ्ख्या कम भएको र क्वारेन्टाइनमा पनि मान्छेको चाप घटेकाले नयाँ सङ्क्रमण दरमा कमी आएको हो ।

भारतबाट फर्किनेहरूको लर्को लागेको बेला यो प्रदेशमा कोरोना सङ्क्रमणदर उच्च बनेको थियो । जेठ अन्तिमदेखि असार तेस्रो सातासम्म नयाँ सङ्क्रमितको सङ्ख्या झनै बढेको थियो । बाह्य मुलुकबाट आउनेको सङ्ख्या घटेसँगै नयाँ सङ्क्रमण दर पनि कम भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा। गुणराज अवस्थीले बताउनुभयो ।

‘अहिले मुलुकभन्दा बाहिरबाट आउनेको सङ्ख्या घटेको छ’, उहाँले भन्नुभयो । ‘क्वारेन्टाइनमा पनि मान्छेको चाप घटेकाले नयाँ सङ्क्रमित फेला पर्नेक्रम कम भएको हो ।’
मुलुकभन्दा बाहिरबाट आउनेको चाप घटेसँगै स्वाब सङ्कलनमा पनि कमी आएको छ । यद्यपि, ‘कन्ट्याक्ट ट्रेसिङ’ भएका र शङ्कास्पद् व्यक्तिको स्वाब सङ्कलन र परीक्षण भने भइरहेको छ । तर, भारतबाट आउने व्यक्तिको स्वाब सङ्कलन र परीक्षणमा कमी आएको अवस्थीले बताउनुभयो ।

‘अब बाहिरबाट आएका व्यक्तिको परीक्षण लगभग सकिएको छ’, उहाँले भन्नुभयो, ‘तत्काल सबै जनताको परीक्षण गर्ने भने तयारी छैन ।’ सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको रिपोर्ट अनुसार शुक्रबार २४१ स्वाब नमूना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यसैगरी, पछिल्लो एक सातामा एक हजार ४०८ नमूना परीक्षण गर्दा १४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको शुक्रबारको तथ्याङ्क अनुसार यो प्रदेशमा सङ्क्रमितको जम्मा सङ्ख्या तीन हजार ७७५ रहेको छ । जसमध्ये सोही दिनसम्म गरी एक हजार २६७ जना निको भएर घर फर्किसकेका छन् । अब दुई हजार ५०८ जनामात्रै सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ को कारण हालसम्म यो प्रदेशका सात जनाको ज्यान गएको छ । पाँच जनाको सुदूरपश्चिम प्रदेशमै र दुई जनाको अन्य प्रदेशमा ज्यान गएको मन्त्रालयले जानकारी दिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्