काठमाडौं, असार २८ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क रहन प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ ।
असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र देखिएकामा अर्को झुन्ड आउने सम्भावना पनि बढ्दै गएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा हरिबहादुर केसीले बताए । उनले भने, “सुरुमा आएको सलह आफैँ हराउँदै गएको छ, कतैकतै एकरदुईवटा देखिन्छ । त्यसले खासै धेरै कुनै नोक्सानी पनि गरेको छैन तर भारतबाट अर्को झुन्ड आउने सम्भावना देखिएको छ । ” भारतका पटना, दरभङ्गा, वनारसलगायतका क्षेत्रमा देखिएको सलह कुनै पनि बेला नेपाल छिर्नसक्ने उनले बताए ।
भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपास करिब १५० हेक्टर क्षेत्रफलमा सलहका दुईवटा झुन्ड देखिएका छन् । यी झुन्डहरू हावाको बहावसँगै भारतको पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभङ्गाको आसपासका क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही जिल्लाको नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको बताइएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार भारतको राजस्थानका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा रहेका सलहका झुन्ड दक्षिण पश्चिमी वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ अगाडि बढिरहेको र त्यो झुन्ड नेपाल छिर्नसक्ने सम्भावना पनि बढ्दै गएको आजको गोरखापत्र दैनिकमा खवर छ ।