Logo

२९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता



काठमाडौं, असार २८ । मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ। सबैभन्दा बढी पहिराले क्षति पुर्‍याएको छ। प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित भएको छ।

मनसुन सक्रिय भएपछिको २९ दिनमा ती जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन्। अझै ३२ जना बेपत्ताछन्। बेपत्ताहरुको खोजी र राहत तथा पुनस्र्थापनको काम जारी रहेको गृहमन्त्रालयले जनाएको छ।

प्राप्त विवरणअनुसार मुख्यगरी म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मी जिल्लामा बढी मानवीय क्षति भएको छ।

मानवीय क्षति बेहोर्ने अन्य जिल्लामा झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

सबैभन्दा बढी म्याग्दीमा पहिरोमा परेर २७ जनाले ज्यान गुमाएका छन् भने सबैभन्दा बढी पहिरोमा परेर सिन्धुपाल्चोकमा २० जना हराइरहेका छन्। तराईका विभिन्न जिल्ला भने डुबान र कटानको समस्याबाट प्रभावित भएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्