Logo

२६ हजारभन्दा बढी स्वदेश फर्किए



काठमाडौँ, २९ असार । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुवेतबाट पाँच हजार २४३, साउदी अरेबियाबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३ र कतारबाट दुई हजार ८८४ स्वदेश फर्किएका छन् ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका सात हजार ६६०, प्रदेश नं १ का पाँच ४७८, प्रदेश नं ५ का चार हजार ३४१, प्रदेश नं २ का चार हजार ३४४, गण्डकी प्रदेशका तीन हजार ३५०, सुदूरपश्चिम प्रदेशका ६३७ र कर्णाली प्रदेशका ५८६ नेपाल फर्किएका छन् ।

उद्धारका उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।

नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । पछिल्लो पटक जुलाई १२ तारिखसम्मको उडान तालिका सार्वजनिक गरी धमाधम चार्टर्ड उडान गरिरहेको छ । हिमालयले जुन १६ देखि जुलाई १२ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सिसिएमसीको निर्णयअनुरुप पहिलो चरणमा २५ हजार स्वदेश फर्काउने निर्णय गरेको थियो । अझै प्राथमिकतामा पर्ने धेरै नेपाली विदेशबाट फर्कनुपर्ने अवस्था भएकाले मन्त्रालयले थप उडानको तालिका निर्धाण गरेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्