Logo

संखुवासभामा ९ घर बगे, निद्रामै ११ बेपत्ता



संखुवासभा, २९ असार । लगातारको झरीसँगै पहिरो खस्दा सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा नौ घर बगेका छन् । शनिबार राति करिब १ बजे भएको घटनामा ११ जना बेपत्ता भएका छन् भने ४ जनाको स्थानीयले जीवितै उद्धार गरेका छन् । भिरालो पाखामा रहेको बेसिन्दा गाउँमा ८६ परिवारको बसोबास थियो । मध्यरात ठूलो आवाजका साथ पहिरो खसेका बेला सबै निन्द्रामा रहेको ७९ वर्षीय गोवासिंह राईले बताए ।

पहिरोमा खसेर घरमै पुरिएको अवस्थामा उद्धार गरिएका राई गम्भीर घाइते छन् । स्थानीय हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते गोवासिंहसँगै, भीमसरी राई, फूलमाया र भीमबहादुर राईलाई जीवितै उद्धार गरिएको हो । पहिरोमा परेकालाई गाउँलेले उद्धार थाल्दा सुरक्षाकर्मीको टोली पुगिसकेको थिएन । घटनापछि ३ सय ४९ जना गाउँलेलाई उद्धार गरेर डेढ घण्टा टाढाको चित्रेमा स्थानीय विद्यालय र स्थानीयका ४र५ वटा घरमा राखिएको छ ।

एक साताको झरीले भिरालो जमिनमा पहिरो खसेको हो । घर बगाएर घाइते अवस्थामा उद्धार गरिएका ७९ वर्षीय गोवासिंहले ठूलो आवाजमा पहिरो एकैपल्ट झरेको बताए । उनी हात र टाउकोमा डुंगाले लाग्दा गम्भीर घाइते भएका छन् । घटनास्थलमा उद्धारका लागि सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पुगेको छ । आइतबार दिनभर पानी परिरहेकाले घाइतेको उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

७० वर्षीय जुद्धबहादुर राईकी श्रीमती ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति पहिरोमा बेपत्ता छन् । करिब सय मिटर माथिबाट घरमै खसेको पहिरोमा परि उनीहरू बेपत्ता भएका हुन् । घटनाका बेला जुद्धबहादुर घरमा थिएनन् । घरभन्दा २ दिन टाढा बेवानामा रहेको भेडीगोठमा गएकाले जुद्धबहादुर जोगिए पनि घटना थाहा पाएपछि गहिरो चिन्तामा छन् । पहिरोमा परेर श्रीमती र छोरी बेपत्ता भएको खबर उनले घटनाको झन्डै १२ घण्टापछि आइतबार दिउँसोमात्रै पाएको खबर आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot