Logo

रानीपोखरीमा एक महिनाभित्र पानी



काठमाडौँ, २९ असार: पानी भर्ने तयारीमा रहेको रानीपोखरीमा अहिले सौन्दर्यकरण र मन्दिर पुनःनिर्माणको काम भइरहेको छ । ऐतिहासिक पोखरीमा २०७२ सालमा गएको गोर्खा भूकम्पपछि आगामी साउनभित्र पानी भर्ने तयारी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ ।

लामो समय काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि काम अघि बढ्न नसकेपछि पछिल्लो समय प्राधिकरणले निर्माण कार्य तीव्र रुपमा काम गरिरहेको छ । अहिलेसम्ममा पोखरीको काम सकिएको छ भने बालगोपालेश्वर मन्दिरको काम ४५ प्रतिशत सकिएको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाउनुभएको थियो । पोखरीको निर्माणकार्य करिब पाँच वर्षभित्र अर्थात नेसं. ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं. १७२७÷ईसं. १६७०) मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्