Logo

म्याग्दी पहिरोमा परेर ज्यान गुमाएका १९ को सामूहिक अन्त्येष्टि



म्याग्दी, ३० असार । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङको पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । गएको बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोका कारण ज्यान गुमाएका १९ जनाको मराङको विभिन्न स्थानमा अन्त्येष्टि गरिएको हो ।

पहिरोमा परेर ज्यान गुमाएकाहरुको आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्त र परिवारलाई शव बुझाइएको हुँदा उनीहरु सबैको सामूहिक तथां एकल रुपमा दाहसंस्कार भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो ।

सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको पहिरोमा ज्यान गुमाएका दुई परिवारका ७ जनाको एउटै चिहानमा अन्त्येष्टि गरिएको थियो । प्राकृतिक विपत्तिले तहसनहस भएको मराङको पहिरोमा पुरिएको अवस्थामा उद्धार गरी ल्याइएका शवलाई अन्तेष्टि गर्ने क्रममा सबै शोकमा डुबेका थिए ।

मराङको पहिरोमा परेकामध्ये १९ जनाको शव भेटिए पनि २ जना अझै बेपत्ता छन् । मराङ र विममा गएको पहिरोका कारण ठूलो धनजनको क्षति भएको हुँदा सिङ्गो म्याग्दी जिल्ला स्तब्ध भएको छ ।

यसै गरी मालिका–७, विम गाउँमा पनि पहिरोमा ज्यान गुमाएकाको शव फेला परेका ८ जनाको अन्त्येष्टि गरिएको जनाइएको छ । बिहीबार राति आएको पहिरोमा परेर पुरिएकाहरुको शव शनिबार मात्रै निकालिएको थियो ।

पहिरोमा परेर मालिका–७, विमकी एलिसा केसी, धवलागिरी–६, मराङ कल्लेनीका जनिमा केसी, सविन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको प्रहरीले जनाएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot