काठमाडौं, असार ३१ । पोलिमर नोट छपाइमा अनियमितता आरोप लागेका पूर्वगभर्नर डा तिलक रावलसहित तीन जनालाई विशेष अदालतले अभियोगबाट सफाइ दिएको छ ।
अदालतले रावलसहित नेपाल राष्ट्र राष्ट्र बैंकले तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र नोट प्रिन्टिङ अस्ट्रेलियाका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई सफाइ दिएको हो । अभियोग दाबीलाई प्रमाणले समर्थन नगरेको भन्दै तीनै जनालाई अदालतले सफाइ दिएको हो ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले तीनै जनाले सफाइ पाएको बताउनुभयो । न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको इजलासले अख्तियारले सही रूपमा प्रमाण मूल्याङ्कन नगरेकाले शङ्काकै आधारमा दोषी ठहर गर्न नमिल्ने भन्दै सफाइ दिएको हो । अदालतले सफाइमा मुख्य तीन आधार लिएको छ । त्यसमा नोट खरिद सम्झौतअघि भएको ईमेल पत्राचार विश्वस्त नभएको, प्रमाणको मूल्याङ्कन सही रूपमा हुन नसकेको आधार लिइएको छ । अदालतले शङ्काकै आधारमा मात्र दोषी कायम गर्नु गलत हुने भन्दै सफाइको आधार लिएको छ ।
१० रुपियाँका पाँच करोड थान पोलिमर नोट छपाइमा अनियमितता भएको अभियोगमा अख्तियारले २०७५ पुस ५ गते मुद्दा दायर गरेको थियो । अख्तियारले तत्कालीन गभर्नर रावलसँग ९१ लाख नौ हजार ८८९ रुपियाँ बिगो दाबी गरेको थियो । यस्तै राष्ट्र बैङ्कका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्यालसँग पनि सोहीबमोजिम बिगो दाबी गरिएको थियो । अख्तियारले कम्पनीका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेसँग पनि समान बिगो दाबी गरेको थियो । पाँडे मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हुन् ।
तीनै जनामाथि गुणस्तरहीन नोट छपाइ गरेको, गैरकानुनी रूपमा मिलेमतो गरी स्थानीय एजेन्टमार्फत आर्थिक लाभ लिएको आरोप अख्तियारको थियो । बोलपत्रको सूचना तथा गोप्य दस्तावेजसमेत चुहाउने गरी पत्राचार भएको आरोप पनि अख्तियारको थियो । तर, अदालतले उक्त पत्राचारलाई प्रस्ट नभएको फैसलामा उल्लेख गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।