Logo

वडाध्यक्षलाई हिरासतमा राखेकोप्रति ललितपुर महानगरको ध्यानाकर्षण



ललितपुर, ३१ असार । ललितपुर महानगरपालिकाले सेवाग्राहीले पेश गरेको निवेदनको आधारमा कानुन बमोजिम गरिदिएको नाता प्रमाणितको विषयमा महानगरपालिका–३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनलाई नेपाल प्रहरी अन्तर्गतको मानव बेचविखन अनुसन्धान ब्यूरोले हिरासतमा लिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

ललितपुर महानगरपालिका नगरकार्यपालिकाको मंगलबार बसेको बोर्ड बैठकको निर्णय अनुसार जारी गरिएको विज्ञप्तिमा उक्त ध्यानाकर्षण उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘वडावासीको सेवामा इमान्दारितापूवर्क समर्मित जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता नभई वडा बाहिरका अन्य व्यक्तिले झेली गरेको गलत लिखत र क्रियाकलापमा वडाअध्यक्षलाई समेत मुछी हिरासतमा लिएबाट जनप्रतिनिधि हतोत्साहित भएका छन् ।’

यो घटनाले जनप्रतिनिधिमा काम गर्न त्रासको वातावरण सिर्जना भएको उल्लेख गर्दै यथाशीघ्र सत्यतथ्य छानबिन गरी जनप्रतिनिधिलाई जनताको सेवामा समर्पित हुने कार्यबाट वंञ्चित नगराउन विज्ञप्तिमा भनिएको छ ।

यसैगरी अनुसन्धानमा रहेको निजको विषयलाई गलत प्रचार नगर्न र नगराउन समेत महानगरपालिकाले विज्ञप्ति मार्फत अनुरोध गरेको छ । स्थानीय सरकार संचालन ऐन,२०७४ मा सिफारिस तथा प्रमाणित गर्ने कानुनी अधिकार वडा कार्यालयको रहने व्यवस्था छ ।

यसका साथै वडा प्रमुुखको हैसियतले वडा अध्यक्षबाट त्यस्ता कामहरु प्रमाणित गर्न कानुनी व्यवस्था छ रहेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्