Logo

ओली–प्रचण्डबीचको वार्ता सकियो, यस्तो भयो सहमति



काठमाडौं, ३१ असार । शक्ति संघर्षका कारण सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर वार्तामा जुटेका छन् । पाँचौं पटकसम्म वार्ता भए पनि दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

राजीनामा प्रकरणपछि दुई अध्यक्षबीच संवाद नै हुन छोडेपछि पार्टीका दोस्रो तहका नेताहरुको दबाबमा अध्यक्षद्वयको बीचमा वार्ताले निरन्तरता पाउँदै आएको छ । प्रचण्ड गृहजिल्ला चितवनमा तीन दिन बिताएर फर्किएपछि पुनः ओली र प्रचण्डबीच मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ । छलफलका क्रममा सहमतिकै आधारमा पार्टीभित्रको संकट हल गर्ने निष्कर्षसहित छलफल सकिएको प्रचण्डको सचिवालयले बताएको छ ।

स्थायी कमिटीको बैठक जारी रहेको बेला प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भारतले आफ्नो सरकारलाई हटाउन लागेको विषय सार्वजनिक गरेपछि पार्टीभित्रैबाट ओलीको राजीनामा मागिएको थियो । बैठकमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने पक्षमा दबाब बढेपछि जारी स्थायी समिति बैठक स्थगित गरेर अध्यक्षद्वय ओली र प्रचण्ड सहमति खोज्न वार्तामा जुटेका हुन् । अध्यक्षद्वय ओली र प्रचण्डले सहमतिका लागि समय लिएर बैठक साउन २ गतेसम्म स्थगित गरेका छन् ।

मंगलबारको वार्तामा एकता गर्दाको आधार, सचिवालयको निर्णयअनुसार समाधान खोज्ने गरी छलफल भएको बताइएको छ । आजसम्मको छलफलमा ओली र प्रचण्डबीचमा कायम भएको आशंकाको दूरी कम भएको र बिहीबारको बार्तामा निष्कर्ष दिने गरी गृहकार्य भइरहेको सचिवालयका एक सदस्यले बताएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot