रसुवा, असार ३१ । रसुवा भन्सार कार्यालय टिमुरेले भन्सार जाँचपास सुरु गरेको छ ।
कोरोना भाइरसको प्रभावले गत फागुन महिनाको १५ गतेदेखि बन्द रहेको नाका गत सोमबार एकतर्फी सञ्चालनमा आएपछि भन्सार जाँचपास सुरु भएको हो ।
रसुवागढी नाका हुँदै चीनबाट आएका सामानको आइतबारदेखि भन्सार जाँचपास सुरु भएको हो । रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार आइतबार ५८ लाख रुपियाँ राजस्व उठेको थियो भने सोमबार १२ लाख रुपियाँ राजस्व उठेको छ ।
सिमेन्ट उद्योगका सामान र सोमबार सोलारका सामग्री बोकेका कन्टेनर जाँचपास भएका छन् । एकतर्फी नाका खुलेको एक साता पुगे पनि व्यापारीले आफ्नो सामानको भन्सार जाँचपास गरेका छैनन् । नाकासम्म व्यापारी आउन कठिन भएको छ । कामदार र गाडी भाडामा मूल्यवृद्धि भएकोले व्यवसायीले सामान जाँचपासमा ढिलाइ गरेका हुन् । रसुवागढी भन्सार यार्डमा करिब ५० वटा कन्टेनरमा व्यापारीका सामान रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
बन्द रहेको नाका सञ्चालन गर्न चौतर्फी दबाबपछि गत सोमबार चीनले एकतर्फी रूपमा नाका सञ्चालन गरेको थियो । नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन् भने आएका सामग्रीलाई नाकाबाट दैनिक आठवटा नेपाली कन्टेनरले सामान लोड गरी भन्सार यार्डसम्म ल्याउने गरेका छन् ।
चिनियाँ पक्षले दैनिक आफ्नो चारवटा गाडीमा रसुवागढी नाकाको मितेरी पुलसम्म सामान ल्याई झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ ।
रसुवागढी नाकामा दैनिक २५० भन्दा बढी कन्टेनर तथा सवारी साधन आवतजावत गर्ने गरेका छन् ।
चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । व्यापारीले भने राजस्व असुली गरेअनुरूप सरकारले सडकमार्ग स्तरोन्नति नगरेकोले खराब बाटोमा जोखिममा आवतजावत गर्नुपर्ने गुनासो गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।