Logo

युएईमा भिसा सम्बन्धी नयाँ नियम, हजारौं नेपाली प्रभावित हुने



युएई, साउन १ । युएई सरकारले आईतबारदेखी लागू गरेको भिसा सम्बन्धी नयाँ नियमका कारण हजारौं नेपाली प्रभावित हुने देखिएको छ। कोरोनाको संक्रमण शुरु भएपछि युएई सरकारले आफ्नो मुलुक भित्ररहेका विदेशी नागरिकहरुको भिसा ३१ डिसेम्बरसम्म स्वतः नविकरण हुने , जरिवाना तिर्नु नपर्ने र अन्य सबै सरकारी परिचयपत्रहरुको समयावधी सकिएको भएपनी ३१ डिसेम्बरसम्म मान्य हुने घोषणा गरेको थियो। तर उक्त निर्णयलाई उल्टाउँदै युएईले आईतबारदेखी नयाँ नियम लागू गरेको छ।

नयाँ नियमअनुसार भिजिट भिसामा आएकाहरुको भिसा मार्च १ पछि सकिएको भए अगष्ट १२ भित्र युएई छोडिसक्नुपर्ने छ अथवा निश्चित शुल्क तिरेर नयाँ भिसा थप्नु पर्नेछ। आवासीय भिसामा रहेकाहरुको भिसा मार्च र अप्रिल महिनामा सकिएको भए जुलाई १२ देखि १ महिनाभित्र नयाँ भिसा लगाइ सक्नुपर्नेछ। जुन १ देखि जुलाई ११ सम्ममा भिसाको अवधि सकिएकाले सेप्टेम्बर १० देखि एक महिनाभित्र नयाँ भिसा लिनु पर्नेछ। जुलाई ११ भन्दा पछि भिजाको म्याद सकिएकाले भने पहिलेकै नियम अनुसार नयाँ भिसाका लागि प्रक्रिया गर्नुपर्ने छ।

तोकिएको समयसिमा भित्र भिसा नविकरण नगरे वा युएई नछोडे युएईको भिसा सम्बन्धी कानुन अनुसार जरिवानाको भागिदार बन्नुपर्ने बताईएको छ। जसअनुसार पहिलो दिन ४ हजारदेखि ९ हजार नेपाली रुपैयाँसम्म जरिवाना लाग्नेछ भने त्यसपछि दैनिक ८ सयदेखि ३ हजार नेपाली रुपैयाँसम्म जरिवाना थपिँदै जानेछ।

यो नियम लागू भएसंगै कोरोनाको महामारीका कारण रोजगारी गुमाएका, बेतलबी बनेका, भिसा सकिएर अवैधानिक बनेकाहरु प्रत्यक्षरूपमा प्रभावित हुने आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्