Logo

पहिरोबाट विस्थापित भएकाहरुको घर निर्माण गरिदिन नेता बस्नेतको पहल



सिन्धुपाल्चोक, १ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा आएको बाढीपहिराबाट घर भत्किएकाहरुको घर बनाउन पहल गरिदिने भएका छन् । गत असार २५ गते आएको बाढीपहिराका कारण विस्थापितले सुरक्षित ठाउँमा जग्गा खोजेका अवस्थामा घर बनाउन पूर्वमन्त्री बस्नेतले समन्वय गरेर घर निर्माण गर्न पहल गर्ने भएका हुन् ।

विस्थापित र घरबारविहीनको वडा कार्यालयले तथ्याङ्क सङ्कलन गरेपछि उपयुक्त सुरक्षित जग्गा भएमा आफूले घर निर्माणका लागि सहयोग गर्ने नेता बस्नेतले बुधबार बताए । भोटेकोशी गाउँपालिकाका ८० घरपरिवार तातोपानी सुख्खा बन्दरगाहमा अस्थायीरुपमा बसिरहेका छन् ।

काँग्रेस वाग्मती संसदीय दलको पाँच लाख सहयोग

काँग्रेस वाग्मती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेका बाढीपहिरो प्रभावितलाई रु पाँच लाख सहयोग गरेको छ । वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढी प्रभावित भोटेकोशी गाउँपालिकाका घरवारविहीन ८० परिवारलाई नगद राहत वितरण गरेको हो । काँग्रेसले प्रतिपरिवार रु पाँच हजारका दरले रु चार लाख प्रभावित क्षेत्रमा वितरण गरेको छ ।

त्यस्तै काठमाडौँको ह्याम्स अस्पताल पुगेर तीन मृतकका परिवारलाई रु १० हजारका दरले र सात घाइतेलाई रु १० हजारका दरले रु एक लाख वितरण गरिएको संसदीय दलका सचिव निमा लामाले बताए ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्