साउन १, काठमाण्डौ । कानुन पालना गराउने नाममा प्रहरी प्रशासनले गलत काम गर्यो भने त्यसको असर कस्तो पर्ला ? यसको जवाफ नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापाले राम्रैसँग दिन सक्छन् । हो, ५ वर्षअघि नेपाल प्रहरीका तत्कालिन एसएसपी सर्वेन्द्र खनालले गरेको एउटा गल्तीका कारण अहिले थापासहित केही फुलबल खलाडिहरुको भविष्य अन्योल बनेको छ । अझै रोकच पक्ष त के छ भने प्रहरीले फसाएर खेल जीवनमा बादल त लगायो नै, तिनै खेलाडिलाई सर्वोच्च अदालतले निर्दोष सावित गरिसक्दा पनि अखिल नेपाल फुटबल संघ एन्फा भने रमिते बनेर बसिरहेको छ ।
म्याच फिक्सिङको आरोपमा सागर थापासहित ४ खेलाडी, एक प्रशिक्षक र फिजियोथेरापिस्ट गरी ६ जना २०७२ साल असोज २७ गते पक्राउ परेका थिए । नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर जानीजानी हारेको भन्दै सागरसहित खेलाडीहरू सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री, पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेविज थापालाई प्रहरी पक्राउ गरेको थियो । त्यसपछि उनीहरू विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को आजीवन प्रतिबन्धमा परेका छन् ।
झण्डै ५ वर्षपछि अदालतबाट निर्दोष सावित भए पनि उनीहरुको प्रतिबन्ध फुकुवा भएको छैन । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर अभियोग लगाइएको थियो । सर्वोच्चअघि उनीहरूलाई विशेष अदालतले पनि सफाइ दिएको थियो । २०७२ मा महानगरीय अपराध महाशाखको प्रमुखको रुपमा कार्यरत सर्वेन्द्र खनालले थापासहित ६ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थिए ।
त्यसबेला खनालको उक्त कार्यको चौतर्फी प्रशंसा भएको थियो । तर अहिले खेलाडिलाई फसाएर त्यसबेला खनालले लाभ लिएको हुन सक्ने आशंका गर्नेहरु धेरै छन् । उनै खनाल पछि नेपाल प्रहरीको नेतृत्वमा पुगे । अहिले अवकास पाएर बसेका छन् ।
पक्राउ र अनुसन्धान प्रहरीको एउटा पाटो हो । तर अदालतले निर्दोष ठहर गरिसकेपछि पनि फुटबल खेलाडिहरुको अभिभावकत्व ग्रहण गर्ने संस्था एन्फाले कुनै प्रोत्साहन गर्न सकेको छैन । पूर्वकप्तान थापाले एसियाली फुटबल संघले गरेको आजीवन प्रतिबन्ध फुकुवाको प्रतिक्षामा रहेको बताएका छन् । यसका लागि एन्फाले पहल गरिदिए हुन्थ्यो भन्ने आशा थापाले व्यक्त गरेका छन् । थापाले आफूहरु पूर्ण रुपमा निर्दोष भएको अदालतले पनि सफाई दिइसकेको अवस्थामा आजीवन प्रतिबन्ध फुकुवा गर्नुपर्ने बताएका हुन् । यसका लागि एन्फाको पहल महत्वपूर्ण हुने उनको तर्क छ ।
तर एन्फाले भने केही गर्न नसक्ने संकेत गरेको छ । त्यसो त आफैँमा अस्तव्यस्त एन्फाले खेलाडिको समस्या समाधान गर्न सक्ने अवस्था छैन । तर पनि खेलाडिले गरेको अपेक्षा पूरा गर्नमा एन्फा उदासिन छ । एन्फाका प्रवक्ता किरण राईसँग यसबारे प्रश्न गर्दा एएफसीले नै निर्णय गर्नुपर्ने भएकाले एन्फाले केही गर्न नसक्ने बताए । यसबाट पनि प्रष्ट हुन्छ कि एन्फा निर्दोष तर पीडित खेलकर्मीहरुप्रति सकारात्मक छैन ।
आफैँ अनियमितता, भ्रष्टाचार, आन्तरिक झैझगडामा रुमल्लिएको एन्फाले पीडित खेलाडीहरुको पक्षमा ठूलै काम गरिदेला भन्ने अपेक्षा त छैन । तर पनि खेलाडिहरुको आशालाई निराशामा बदल्ने काम गर्नु एन्फाको गैरजिम्मेवारीपन हो । कतै आर्थिक लाभ र प्रलोभनको चंगुलमा एन्फाका पदाधिकारी फस्दा खेलाडिको हितमा काम गर्न नसकेको त हैन ? यसको जवाफ एन्फाले काम गरेर देखाउनु जरुरी छ ।