काठमाडौं, १ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि विहान ११ बजे बस्दैछ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बरिष्ठ नेता माधव कुमार नेपाललाई लिएर गएका थिए । उक्त छलफलमा महासचिव विष्णुप्रसाद पौडेलपनि सहभागी थिए ।
विवाद समाधानको लागि भन्दै यसअघि दुई अध्यक्षबीच पटक-पटक एक्लाएक्लै भेटवार्ता भएका थिए । तर, दुवै अध्यक्षले आ आफ्नो अडान कायमै राखेपछि सहमति हुन सकेको थिएन । गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत अधिकांश सदस्यहरुले ओलीलाई दुवै पदबाट राजीनामा दिन माग गरेका थिए । तर, ओलीले कुनैपनि हालतमा राजीनामा नदिने अडान लिँदै आएका छन् ।
आज भएको छलफलमा नेताहरु भोलिको बैठक सुचारु गर्न सहमत भएका छन् । भोलि विहान ११ बजेबाट सुरु हुने बैठकमा यसअघि बोल्न बाँकी रहेका सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यतालिका छ । स्थायी कमिटी सदस्य मणि थापाले दिएको जानकारीअनुसार भोलिको बैठकमा कोरोना महामारी, बाढिपहिरोको विषयमा सदस्यहरुले धारणा राख्नेछन् ।
तर, यसअघिझैं प्रधानमन्त्रीको राजीनामा वा सरकारको समिक्षा भने नहुने उनको भनाई छ । राजीनामा लगायत एक व्यक्ति, एक पदका विवादका एजेण्डा केन्द्रीय कमिटी बैठकमा लैजानेबारे अध्यक्षद्धय ओली र दाहालबीच सहमति भैसकेको उनको दाबी छ । उनले अहिले प्राकृतिक विपद् र कोरोनाको विषयमा केन्द्रित रहेर मात्रै नेताहरुले बोल्ने समझदारी बनेको जनाए । र, स्थायी कमिटीले नै अहिले पार्टीभित्र देखिएका विभिन्न विवादको विषयहरु केन्द्रीय कमिटीको बैठक डाकेर छलफल गर्ने र त्यही बैठकबाट छिनोफानो गर्ने पनि उनले स्पष्ट पारे । file photo