Logo

साउन ४ देखि फेरि भारी वर्षा हुन सक्ने, उच्च सावधानी आवश्यक



काठमाडौँ, २ साउन । जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि नै असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो । 

नभन्दै सोही अवधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपर्यो । अझै ४५ भन्दा बढी मानिस हराइरहेका छन् । विपद्को आलो घाउमा खाटो बस्न नपाउँदै विभागले पुनः साउन ४ देखि त्यसैगरी विभिन्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गरी सचेत गराएको छ ।

मौसम विज्ञान विभागका अनुसार साउन ४ देखि हुने भारी वर्षा तीनदेखि चार दिन रहने विभागले जनाएको छ । त्यस अवधिमा नेपालमा विभिन्न भागमा मनसुन सक्रिय भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले बताउनुभयो ।
यसअघि धेरै पानी परिसकेकाले थोरै पानी पर्दा पनि छिट्टै पहिरो खस्नसक्ने भएकाले सावधानी अपनाउन डा श्रेष्ठले अनुरोध गर्नुभएको छ । मुलुकको पूर्वमा अली बढी मनसुन सक्रिय हुने र सुदुर पश्चिममा केही ठाउँमा भारी वर्षा हुनेछ ।
यही असार ३ गतेसम्म मौसम सामान्य जस्तै छ । सामान्य बदली भई केही स्थानमा पानी पर्ने सम्भावना छ । तर आइतबारदेखि भने अहिले दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुनी गतिविधि सक्रिय भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उक्त रेखा नेपाल प्रवेश गरेपछि मनसुनी वर्षा गराउँने खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्