Logo

पार्टी सभापतिज्युको बदानामी हुने क्रियाकलाप नहोस्- रामकृष्ण यादव, नेता, नेपाली कांग्रेस



काठमाडौं, २ साउन । नेपाली काँग्रेसका नेता रामकृष्ण यादवसँग लामो राजनीतिक अनुभव छ । पूर्व मन्त्री समेत रहेका उनी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् । उनले काँग्रेसको आन्तरिक राजनीतिबारे ऋषि धमलासँग रेडियो एनआरएनसँग कुराकानी गरेका छन् । उनीसँग लिइएको अन्तवार्ताको मुख्य अंशः
अब नेपाली कांग्रेसमा पार्टी सभापतिले विभाग गठन गर्न पाउने कि नपाउने ?
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय कार्य समितिबाट दुई-दुई पटक पारित भइसकेको छ । अस्ति पनि केन्द्रीय कार्यसमितिबाट पास भयो । तर, लकडाउनको कारणले गर्दा तीन, चार महिनादेखि कार्यक्रमहरु, पार्टीको क्रियाशील सदस्य नविकरण, क्रियाशील सदस्यता वितरणलगायत समायोजनका कामहरु बीचमा ठप्प भएको थियो । फेरि अस्ति केन्द्रीय कार्यसमितिबाट महाधिवेशनको कार्यतालिका पास भइसकेको छ । त्यसमा सबै केन्द्रीय सदस्यहरुले आफ्ना आफ्ना धारण पनि राख्नुभएको छ । ७७ जिल्लामध्ये २६ वटा जिल्लाको समायोजन बाँकी छ । त्यो समायोजनको काम पनि छिट्टै सक्नुपर्छ भनेर निर्णय भएको छ । र, पुसबाट मधिवेशनको कार्य सुरु गर्ने र फागनुमा केन्द्रीय महाधिवेशन सक्ने भनेर हामीले केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत पारित गरेका छौं । हामीले थप्नुपर्ने एक वर्षको समय थपिसकेका छौं । यो एक वर्षभित्रै पार्टीको १४ महाधिवेशन सम्पन्न गर्ने हाम्रो बाँचा पनि छ । त्यसकारण संघीय, प्रदेश र स्थानीयलगायत राष्ट्रिय निर्वाचन हुँदा जसरी आचारसंहिता हुन्छ । त्यसैगरी पार्टीको पार्टी पनि एउटा वैधानिक पार्टी हो ।
केन्द्रीय अधिवेशनको मिति ताकिइसकेपछि सभापतिले विभागहरुमा सदस्यहरु मनोनय गर्न पाउने कि नपाउने ?
अब अहिले १४ औं महाधिवेशनको लागि सम्पूर्ण कार्यतालिका घोषणा भइसकेको छ । हाम्रो पार्टी चुनावमा प्रवेश गरिसकेको छ । त्यसकारण विभागहरु गठन गर्नु, सदस्यहरु मनोनय गर्नुलगायतका कुनै पनि काम मलाई लाग्छ गर्नुहुँदैन । यो पनि पार्टीभित्रको आचारसंहिता हो । त्यो आचारसंहितालाई हामी सबैले मान्नुपर्छ । त्यसैले अहिले विभाग गठन, सदस्यता मनोनय गर्नुउचित हुँदैन ।
पार्टी सभापतिले आफ्नो अधिकार प्रयोग गरेर विभाग गठन गर्न नपाउने ?
पार्टी सभापतिजीले गर्न पाउने अधिकार त सुरुदेखि त छँदैथियो । अहिले त्यो ढिला भइसकेको छ ।
सभापतिलाई विभाग गठन गर्नबाट विधानको कुन धाराले दिँदैन ?
नेपाली कांग्रेस पार्टीको विधानमा यी सबै कुराको बन्दोबस्त गरेको छ । निर्वाचार प्रारम्भ भइसकेपछि आचारसंहिता लागु हुन्छ । यसमा पनि विभाग गठन कति महिनाभित्र गर्ने, अन्य समितिहरु कति वर्षभित्र गठन गरिसक्ने सबै कुराहरु विधानले राम्रोसँग तोकेको छ । र, तोकिएको म्यादहरु पनि सबै समाप्त भइसकेको कारणले गर्दा मलाई लाग्छ । अब सभापतिज्यूबाट कुनै विभाग गठन, मनोनय हुनुभएन । यस्ता कार्यले गर्दा पार्टीभित्र आपसमा वादविवाद, मनमुटाब हुन्छ । एकले अर्कामाथि शंका गर्न थाल्ने अवस्था सिर्जना हुन्छ । त्यसकारण सभापतिजी त्यो कुरामा सचेत हुनुपर्छ । अब पार्टीको महाधिवेशनको कार्यतालिका आइसकेकाले के कुरा गर्दा सर्वसम्मतिबाट पास हुन्छ, त्यतातिर लाग्नुपर्छ । अहिले गठन गरेका विभागहरुले कुनै ठोस काम पनि गर्न सक्दैन । र विभागहरु गठन गर्ने अवधि पनि समाप्त भइसकेको छ । त्यसकारण अहिलेको बेलामा विभाग गठन गर्ने, मनोनयन गर्ने काम गर्नुउचित होइन ।
सभापतिले त कृष्णप्रसाद सिटौलाहरुसँग सल्लाह गरेर अन्य पार्टीबाट प्रवेश गरेर आएकालाई केन्द्रीय सदस्य मनोनय गर्दा रामचन्द्र पौडेल, सशांक कोइरालाहरुले विरोध गर्नुभएको त्यसको आवश्यकता छ ?
केन्द्रीय समितिका सदस्यहरुको मनोनय धेरै पहिले गर्नुभएको होला । अब उहाँहरु केन्द्रीय समिति भइसक्नुभयो अरु केरै भएन । तर, अहिले जति पनि विभागहरु गठन गर्नुभएको छ, त्यो सभापतिज्यूले समयमै गर्न सक्नुभएन । विभागहरु गठन उहाँ सभापति निर्वाचित भएको ६ महिना भित्रै गर्नुपर्ने थियो । अब अहिले महाधिवेशनको कार्यतालिका पनि बाहिर आइसकेको छ । यो बेलामा विभाग गठन गरेर यसले काम पनि गर्न सक्दैन । सारा नेपाली कांग्रेसका कार्यकर्ता, साथीभाइहरु नविकरण र समायोजनका आफ्ना आफ्ना काममा लागेका छन् । त्यसकारण आचारसंहिता त हाम्रो पार्टीभित्र पनि छ नि । राष्ट्रिय मान्यता प्राप्त त हाम्रो पार्टी पनि हो । जसरी एनजीओ, आइएनजीओमा हुन्छ । त्यसैगरी यत्रो बलिदानी दिएर आएको ऐतिहासिक राजनीतिक पार्टी आचारसंहिता बिना हिँडिरहेको छैन । त्यसकारणले गर्दा महाधिवेशनको मिति तय भइसकेकाले आपसमा विवाद गर्नु, एकआपसमा मतमतान्तर गर्नुभन्दा अहिले कुनै पनि त्यस्तो काम नहोस् । जसको कारणले पार्टीभित्र तिक्तता र मनमोटाब उत्पन्न होस् । एक अर्काप्रति शंका, उपशंका उत्पन्न होस् । त्यो नगरेर चुनावी आचारसंहितालाई सबैले मानेर हामी एक ढिक्का भएर जानुपर्छ । जसरी हाम्रो अगाडि १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने चुनौति छ । त्यसको लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ । अन्यतिर ध्यान लगाउनु हुँदैन । यसलाई हामीले आफ्नो प्रतिष्ठाको विषय बनाएर पार्टीलाई तलदेखि माथिसम्म किचलोमा फसाउनु हुँदैन । एक ढिक्का महाधिेवशनतिर अगाडि बढ्नुपर्छ ।
प्रतिष्ठानको विषय तपाईंहरुले बनाउनुभएको छ, १४औं महाधिवेशन हुँदै छ, प्रतिस्पर्धाको लागि तयार हुनुहोस् न जहिले पनि सभापतिलाई असयोग गर्ने ?
यो कुरा पार्टी सभापतिजीले भन्नुभएको छैन । तपाईंहरुले भनिरहनुभएको छ । सभापतिलाई सम्पूर्ण नेता तथा देशभरिका कार्यकर्ता र साथीभाइहरुले सहयोग गर्दै आउनुभएको छ । अनि हामीले कहाँबाट उहाँलाई असहयोग गरेका छौं र ? सभापति हाम्रो अभिभाव हो । सभापतिबाट कुनै पनि यस्तो काम नहोस् जसको कारबाट उहाँलाई बदनामी होस् । र, १४ औं महाधिवेशन प्रभावित होस् । त्यसको कारणले त म व्यक्तिगत रुपमा उहाँलाई निवेदन गर्न चाहन्छु । अबदेखि विभागहरु गठन नगर्नुहोस् । यसरी विभाग विभाग गठन गर्दै जाँदा पार्टीभित्रको आचारसंहिता जुन छ । त्यो उल्लंघन भएको ठहरिन्छ । त्यसकारण त्यस्ता काम गर्नुहुँदैन भनेर म आग्रह गर्न चाहुन्छ ।
अहिलेको अवस्थामा सभापतिले विभाग गठन गरेर जानुभयो भने त्यो विभाग रामचन्द्र समूहका तपार्इंंहरु बस्नुहुन्न ?
यो समूह, ऊ समूह भनेर त्यसरी नभन्नुहोस् न ।
होइन कांग्रेसभित्र गुटगत स्वार्थीहरु विभिन्न समूह बनाएर हिँडिरहेका छन् नि ?
यसलाई गुटगत स्वार्थी अथवा समूह नभनौं । हामी सबैको आदरणीय सभापति पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाजी हुनुहुन्छ । उहाँ भनेको यत्रो चार, चार चोटी प्रधानमन्त्री भइसकेको व्यक्ति हो । नेपाली कांग्रेसको निर्वाचित सभापति हो । हामी सबै नेपाली कांग्रेसका नेता, कार्यकर्ताको अविभावक हो । उहाँ अविभावक भएर निर्वाचन सम्पन्न गराइरहनुभएको छ । त्यसकारणले गर्दा अहिले निश्चित रुपमा विभागहरु बनाउने उहाँले गर्नुहुन्न होला । कतै गरिरहनुभएको छ भने त्यो कुरालाई आदरणीय सभापतिजीले रोक्नुहुने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot