Logo

नयाँ पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरणको वातावरण बनोस्- मणि थापा, नेता, नेकपा



काठमाडौं, २ साउन । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य मणि थापाले आन्तरिक विवाद केन्द्रीय कमिटीले टुंगो लगाउने बताएका छन् । उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए । एकजनाले पार्टी र अर्काले सरकार सञ्चालन गर्नेगरी सहमति निकाल्नुपर्ने बताए । यसै सेरोफेरोमा नेकपा नेता मणि थापासँग ऋषि धमलाले गरेको कुराकानीः
नेकपाभित्रको शक्ति संघर्ष केन्द्रीय समितिमा जाने होइन ? स्थायी समितिले समस्या समाधान गर्न सकेन ?
स्थायी समितिले समस्या समाधान गर्न सकेन होइन । केन्द्रीय कमिटिमा लाँदा चाहीं समस्या समाधानका बारेमा वृहत रुपमा छलफल हुनेभयो । फेरि अन्तिममा केन्द्रीय कमिटिले नै अनुमोदन गर्नुपर्ने भएकाले पनि त्यही लाँदा ठीक छ भन्ने लागेको हो ।
प्रधानमन्त्रीले दुवै पद छाड्दिन भन्नुभएको छ, हिजो दिनभरिको चुरो कुरा बताउँनुस्न ?
हिजो दिनभरिको छलफलको मुख्य कुरा भनेको केन्द्रीय कमिटिमा जाने भन्ने भयो । त्यहाँ अहिलेको बाढीपहिरोको बारेमा सरकारलाई सचेत गराउने । कोरोना बारेमा पनि छलफल गर्ने । अहिले जनि पनि मुद्दाहरु उठेका छन् तिनलाई केन्द्रीय कमिटीमा लगेर हल गराउने भन्ने हो ।
स्थायी समितिमा आज के के हुन्छ त ?
आज स्थायी समितिमा खासै केही कुरा हुँदैन । बोल्न बाँकी रहेका साथीहरुले बोल्नुहुन्छ । त्यसपछि समसामयिक विषयहरु पास होलान् । अनि केन्द्रीय कमिटि बैठक कहिले हुन्छ ।
त्यसोभए आज केन्द्रीय कमिटिको बैठक तय हुन्छ ?
हो, केन्द्रीय कमिटिको बैठक तय हुन्छ ।
केन्द्रीय कमिटि बैठक मोटामोटी कहिले बस्ने तय भएको छ ?
अहिलेको बाढीपहिरो र कोरोनाको जटिलता सहज भयो भने त्यसलाई हेरेर केन्द्रीय कमिटिको बैठक बोलाइन्छ ।
भदौमा हुन्छ कि असोजमा ?
यीनै दुई महिनामा हुन सक्छन् ।
होइन ठ्याक्कै भन्नुस् न सहमतिको कुरा गरेको मैले ?
ठ्याक्कै बैठक बस्ने समयको सहमतिको कुरा त मलाई पनि थाहा छैन । स्थायी समितिले त्यसको सहमति गर्छ होला ।
त्यसोभए तपाईंंहरुको पार्टीभित्र स्थायी समिति र सचिवालय पनि काम लागेन हो ?
यसमा स्थायी समिति काम लागेन होइन । केन्द्रीय कमिटिका धेरै साथीहरुले केन्द्रीय कमिटिको बैठकको आह्वान गरिरहनुभएकाले अन्यमा केन्द्रीय कमिटिमै जानुपर्ने हुन्छ । त्यसकारण केन्द्रीय कमिटिमै जाँदा सबैतिर वैधानिकता हुने भएकाले पनि त्यहाँ लान खोजिएको सही हो ।
केन्द्रीय कमिटीले कसरी समस्याको समाधान गर्छ बुदागत रुपमा बताउनुस् न ?
अहिलेसम्म जति पनि बहस, छलफलहरु भएका छन् । अथवा कार्यसमितिमा जेखालका अन्तरविरोधहरु देखा परे । त्यो अन्तरविरोध पनि स्थायी समिति मार्फन केन्द्रीय कमिटिमै जाने हो र त्यसले के डिसिजन गर्छ अहिले भन्न सकिँदैन ।
केन्दीय कमिटिले प्रधानमन्त्रीलाई दुवै पदमा राख्ला कि एउटाबाट हटाउँला ?
त्यो के गर्छ भन्ने त केन्द्रीय कमिटिको अधिकार क्षेत्रको कुरा भयो हामीले भन्न मिलेन । तरपनि अहिले स्थायी समितिमा भएको बहस के हो भने प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिने कुरा अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, हाम्रो पार्टी एकताको विशिष्ट मिसन साथै देशमा जेखालका समस्याहरु हामी भोगिरहेका छौं । यो बेलामा प्रधानमन्त्रीले दुवै पार्टीबाट राजीनामा दिनुपर्छ भन्ने कुरा त्यति सान्दर्भिक छैन भन्ने कुरा स्थायी कमिटिले नै निर्धारण गरिसकेको छ । त्यसैगरी दुई अध्यक्षलाई कसरी सन्तुलनमा मिलाउने र पार्टी एकताको भावनालाई कसरी सम्वोधन गर्ने साथै जनताको समस्यालाई कसरी समाधानमा कसरी पार्टी इन्भल्ब हुने भन्ने कुरा आधार हामीले बनाउनुपर्छ । त्यसकारण एकता र नेताहरुको कार्य विभाजन अहिलेको सही कुरा हो जस्तो लाग्छ ।
तपाईले भन्नुभयो दुवै पद छोड्न प्रधानमन्त्री तयार हुनुहुन्न अनि कार्य विभाजन कसरी गर्ने ?
उहाँ तयार हुनुहुन्न भन्ने होइन । त्यो माग गर्नुनै बेठिक माग छ । अहिले राष्ट्रिय समस्याहरु छन् । अहिले कम्युनिस्ट आन्दोलनको जुन एकताको कुरा छ । ती सबैलाई हेर्दा त्यो माग जाहज र वैज्ञानिक छैन । त्यसकारण त्यो मागबाट साथीहरु पछि हटिसक्नुभयो ।
त्यसोभए पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा केपी शर्मा ओलीनै यथावत रहनुहुन्छ ?
त्यो कुरा छलफलमा छ । त्यही कुरा त विवादमा भएको हो नि । त्यसलाई केन्द्रीय कमिटिले हल गर्नुपर्छ ।
होइन तपाईंले नै भन्नुभयो नि अहिलेको अवस्था प्रधानमन्त्री दुवै पद छोड्नुहुँदैन भनेर ?
अहिले उहाँका दुवै पदको बारेमा छलफल चलिरहेको छ । दुवै पद छोड्ने कुरा चाहीं अहिलेको परिस्थितिमा बेठिक हो । जहाँसम्म दुई अध्यक्षको कार्यविभाजन हो । पार्टी एकताको बेलामा जुन खालको कार्यविभाज भएको थियो । त्यसकै प्रिन्सिपलमा टेकेर उहाँहरुले दायाँ र वायाँबाट यसको निर्णय गर्नुपर्छ भन्ने स्थायी समितिको स्प्रिरिट त्यतातिर जान खोजेको थियो । त्यही स्प्रिटलाई केन्द्रीय कमिटिमा लाने कुरा हो ।
त्यसोभए अहिले प्रधानमन्त्रीलाई दुवै पदमा यथावत राख्ने, प्रचण्डलाई कार्यकारी अधिकारसहित अध्यक्ष बनाउने र माधव नेपाललाई सरकार सञ्चालन संयन्त्रको संयोजक बनाउने गरी सहमति हुन्छ त ?
यिनै विषयमा सहमति हुन्छ भन्न त सकिँदैन । यो पनि एउटा छलफलको एउटा एजेन्डा भने हो । केपी शर्मा ओलीले प्रधानमन्त्री लिने, प्रचण्ड कमरेडले पार्टी अध्यक्ष लिने र माधव कमरेडलाई यही लेबलको कार्य विभाजन गर्ने भन्ने पनि छ । तर, यी दुवै छलफलमा प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रचण्डबीच सहमति जुटिसकेको छैन । त्यसकारण विवाद अलिकति लम्बियो ।
दुवै पदमा केपी शर्मा ओली रहने कि एक पद प्रचण्डलाई छोड्ने ठ्याक्कै भन्न सक्नुहुन्छ ?
दुवै पद प्रधानमन्त्रीले छोड्ने कुरा अहिले परिस्थितिमा उचित हुँदैन । अब मुख्य कुरा भनेको दुई अध्यक्षबीचमा कार्यविभाजन गर्नुपर्यो । त्यसको लागि एउटाले प्रधानमन्त्री र अर्कोले पार्टी अध्यक्ष चलाउँदा पनि भयो । तर, पार्टीलाई एकताबद्ध गराएर अगाडि बढाउनुपर्यो । कार्यकाल अझै तीन वर्षको बाँकी छ । अहिले दुई अध्यक्षबीच झगडा गर्ने र समग्रह सरकारको मूल्यांकन गर्ने बेला पनि भइनसकेको अवस्था हो । जसरी पार्टी झगडाको बिऊ रोपिएको छ, त्यो कम्युनिस्ट आन्दोलनको लागि बेठिक छ भन्ने मेरो तर्क हो ।
तपाईं त पछिल्लो समय क्याम्प परिवर्तन बालुवाटारले विश्वासिलो पात्र हो भन्ने बनाउनुभएको छ नि ?
यसमा पत्रकारको सूचनाको एउटा लेभल हुन्छ । अहिले हामी के गरिराखेका छौं भन्दा प्रचण्ड र कमरेड केपी ओलीजीले पार्टी एकता गर्नुभयो । त्यो एकता गर्ने बेलामा पनि उहाँहरुले बडो स्पिडका साथ गर्नुभयो । त्यो पार्टी एकता भएको दुई वर्ष नपुग्दै केपी ओलीजीलाई दुईबाट हटाउने हो भने पार्टी एकताको मूल मर्मबाट बाहिर गइसकेपछि हामी कुनै पनि पनि क्याम्पतिर लाग्दैनौं । हामी न केपी ओली, न झलनाथ, न माधव नेपाल र प्रचण्डको क्याम्प समग्रमा आएर दुई अध्यक्षले एक ठाउँमा आएर पार्टी एकतालाई बचाउनुपर्यो । उहाँहरुले नै यो पार्टी एकटा गराउनुभएको हो । अहिले फेरि किन फुटतिर जाने त्यसको जवाफ हाम्रो जेनेरेसनले खोजेको हो । त्यो जवाफ खोज्दा कसैका क्याम्पमा अडिएर होइन सबै नेताहरुका पोजेटिभ विचारलाई एक ठाउँमा राखेर अगाडि जाँदा राम्रो हुन्छ । पद हस्तान्तरण गर्दा पनि नयाँ पीढिको सम्मानका साथ गर्नुपर्छ । तर, यहाँ के देखियो भने एकले अर्कालाई निशेध गर्ने । माओवादी आन्दोलनमा पनि त्यही देखिएको थियो । हिजो एमालेमा पनि त्यही देखिएको थियो । त्यसैले कहिले माधव नेपालको क्याम्प, कहिले केपी ओलीको क्याम्प होइन हामीले अब नयाँ आधारको खोजी गर्न खोजेका हौं ।
त्यसोभए तपाईंंहरुले मंसिरमा महाधिवेशन गराएर केपी ओलीलाई पार्टी अध्यक्षबाट विदा गराउने पक्षमा हो ?
बिदा गराउने पक्षमा होइन । कमरेड केपी ओलीलगायतका नेताहरुको जेनेरेसनबाट नयाँ पुस्तालाई छोड्ने वातावरण बनोस् भन्ने चाहन्छौं । तर, महाधिवेशनमा ठूलो विभेद हुनेवाला छ । त्यो विभेदमा कुन साथीहरु अडिन सक्नुहुन्छ हुन्न एउटा कुरा हो । अब कम्युनिस्ट पार्टीमा नयाँ जेनेरेस आउनुपर्ने माग बढेको छ । अरु पार्टीहरुमा नयाँ जेनेरेसन आउनुपर्ने माग बढेको छ । हामी पनि नयाँ जेनेरेसन त होइन तर, दोस्रो, तेस्रो पुस्ता पनि पार्टी काबिल छ । हामी कुनै पुरानो क्याम्पबाट नयाँ क्याम्प भन्दा पनि नयाँ मुभमेन्ट हुनुपर्यो भन्ने हाम्रो चाहना हो ।
अबको महाधिवेशन पछि पुराना पुस्ताका नेताहरुबाट नयाँलाई नेतृत्व हस्तान्तरण गर्नुपर्यो हो ?
हो, तपाईंले ठीक कुरा गर्नुभयो । अब हामीले क्याम्प परिवर्तन होइन । पुरानो पुस्ताप्रति हाम्रो असहमति हो । पुरानो पुस्ताले यहाँसम्म ल्याउनुभयो । तर, अहिले यो पुस्ताबाट जनता, कार्यकता खुसी छन् त ? अहिले दुई तिहाई हाराहारीको सरकारले काम गर्न सक्यो कि सकेन ? र कम्युनिष्ट पार्टीप्रति प्रश्न उठ्यो कि उठेन ? भन्ने कुरा बच्चाबच्चाले पनि बुझिसक्यो नि । अब उहाँहरुले नेतृत् वगर्न सक्नुहुन्न भन्ने कुरा प्रमाणित भइसक्यो । त्यसकारण अब पनि उहाँहरुलाई मुखहेरेर माया गर्ने स्थिति छैन । अब उहाँहरुले इमानदारीपूर्वक नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।
तपाईंहरुको महाधिवेशन मंसिरमै हुन्छ ?
यही मितिमा भन्दा अबको महाधिवेशन छिटोभन्दा छिटो हुन्छ । हाम्रो भन्दा पनि नयाँ जेनेरेसको माग हो । महाधिवेशन चाँडोभन्दा चाँडो हुनुपर्छ । महाधिवेशनभन्दा अर्को विकल्प छैन ।



प्रतिक्रिया दिनुहोस्