Logo

नेकपा विवाद मिलाउन दोस्रो तहका नेताको पहल



काठमाडौं, २ साउन । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ । स्थायी कमिटीमा रहेका ११ जना दोस्रो कमिटीका नेताहरु बसेर छलफललाई गति दिएका छन् ।

आज साँझ ११ जना दोस्रो तहका स्थायी कमिटीका नेताहरुले आन्तरिक छलफल गर्दैछन् । स्थायी कमिटी सदस्य मणि थापाका अनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजान पहल भइरहेको छ । उनले भविष्यमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको वातावरण बनाउन समेत जोड दिए ।

दोस्रो तहका नेताहरुको बैठकको पहल टोपबहादुर रायमाझी, मणि थापालगायतले गरेका हुन् । यसमा ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम गरी सबै पक्षका नेताहरु छन् ।

दोस्रो तहका नेताहरुले आन्तरिक विवाद मिलाउन तटस्थ भएर भुमिका निर्वाहको प्रयास गरिरहेका छन् । उनीहरुले कुनै हालतमा पार्टी फुट्न नदिने अडान लिएर भुमिका खेलिरहेका छन् ।

नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमको समुहले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएका छन् । तर, ओली राजीनामाका लागि तयार छैनन् । यसले टकराव बढाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्