Logo

..यसकारण हामी अनलाईन कक्षा बन्द गर्ने निर्णयमा पुग्यौं : न्यौपाने



काठमाडौं, २ साउन । एनप्याव्सनका महासचिव सुवास न्यौपानेले अनलाईन कक्षाहरु बन्द गरेर आफूहरुले अप्रिय निर्णय लिएको भन्दै यसलाई बाध्यात्मक परिस्थितिको रुपमा बुझ्न आग्रह गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफूहरुले विषम परिस्थितिमा पनि विद्यालय सञ्चालन गर्ने उद्देश्यले सरकारसँग सहुलियत मागेको सुनाए । वैशाखबाटै आफूहरुले ‘भर्चुअल क्लास’ सुरु गरेको भएपनि अझै कतिपय शिक्षकहरु ‘टेक्नो–फ्रेण्ड्ली’ नभएको र ईन्टरनेटको एक्सेस राम्रो नभएकोले देशभरि प्रभावकारी नभएको स्पष्ट पारे ।

उनले शिक्षक तथा कर्मचारीहरुको तलब खुवाउन नसकिएको अवस्था, सञ्चालन खर्च, घरभाडा र बैंकले ऋणको व्याज तिर्न गरेको ताकेताले आफूहरु समस्यामा परेको सुनाए । उनले भने,‘यही समस्याहरु पार लगाउन सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गरेका थियौं । अर्थमन्त्रीलाई पनि भेटेका थियौं । तर, बजेटमा त्यो कुरा सम्बोधन भएन् ।’

उनले आफूहरु शिक्षण सिकाईलाई निरन्तरता दिने पक्षमा नै रहेको जिकिर गरे । उनले भने,‘अतिरिक्त शुल्क लिँदैनौं । अहिले हामी बाँच र बचाऔं भन्ने अभियानमा छौं । तर, अब त हात उठाउनुबाहेक हामीसँग अर्को विकल्प छैन् ।’

उनले असारसम्मको तलब, भक्ता आफूहरुले जसोतसो व्यवस्थापन गर्ने तर साउनबाट केही पनि गर्न नसक्ने जिकिर गरे । उनले भने,‘साउनपछि सरकारको जिम्मा हो । असारसम्म हामी जे सक्छौं, त्यति गर्छौं ।’ उनले अहिलेको अवस्थामा वस्तुपरक विश्लेषण गर्दै निकास निकाल्नुपर्ने जोड दिए ।

 



प्रतिक्रिया दिनुहोस्