Logo

विद्यालय सञ्चालकहरुलाई थापाको चूनौति : ‘चलाउन नसके ताला, चाबी दिनुहोस हामी चलाउँछौं’



काठमाडौं, २ साउन । संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होम कुमार थापाले विद्यालय सञ्चालकहरुले चैत्रभन्दा अगाडिदेखि नै शिक्षकहरुलाई तलब, भक्ता नदिएको आरोप लगाएका छन् । उनले शैक्षिक क्षेत्रलाई बचाउनुपर्नेमा जोड दिए । उनले भने,‘चैत्र ११ गतेबाट लकडाउन सुरु भएको हो । तर, कतिपय विद्यालयहरुले पुष र माघदेखि नै शिक्षकहरुलाई तलब दिएका छैनन् । हामीसँग प्रमाण छ । हामी विद्यालय सञ्चालकहरुसँग सहकार्यमा छौं । देशभरि दुई लाख शिक्षकहरु हुनुहुन्छ । अहिलेसम्म उनीहरुको तलब दिईएको छैन् । के विद्यालय भनेको दादागिरी देखाउने ठाउँ हो ?’

यसअघि शिक्षकहरुले पटक–पटक अप्ठ्यारो परेको अवस्थामा विदा माग्दा नदिने विद्यालयहरुले अहिले घरविदा कहाँबाट दिएको ? भन्दै उनले प्रश्न गरे । उनले भने,‘तपाईहरुले शिक्षकलाई माघदेखि नै दाम दिनुभएको छैन् । तर, स्कुलको गाडी व्यक्तिको नाममा राख्ने काम भएको छ । अनि कम्पनी ऐनमा विद्यालय दर्ता गरिएको छ । कमाएको पैसाले जग्गा किन्ने । हामीलाई थाहा छैन् ?’

उनले दोहोरो भूमिका निर्वाह नगर्न विद्यालय सञ्चालकहरुलाई चेतावनीसमेत दिएका छन् । ‘तपाईहरुले तालाचाबी बुझाउँछौं भन्नुभयो । नसक्ने हो भने हामीलाई दिनुहोस चाबी, हामी चलाउँछौं । विद्यालय कसरी चलाउनुपर्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ ।’ उनले विद्यालय सञ्चालकहरुलाई तत्काल शिक्षकहरुको तलब दिन माग गरे ।

देशभरि नै शिक्षकहरु निकालिएको सुनाउँदै उक्त कदमपनि बन्द गर्न उनको आग्रह छ । उनले भने,‘निश्काषन गरिएका शिक्षकहरुलाई तत्काल पूनर्वहाली गर्नुहोस् ।’ उनले अहिलेको समस्या समाधानको लागि उपाय निकाल्नुपर्ने र यसमा आफूहरुले पनि सकारात्मक भूमिका निर्वाह गर्ने जनाए । उनले भने,‘तपाईहरुलाई हामी अझै एक महिनाको समय दिन्छौं । सरकारले पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्