Logo

अख्तियारको फन्दामा पर्ने शाखा अधिकृत र सुब्बा धेरै



काठमाडौँ, ३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा २०८ जना राष्ट्रसेवक कर्मचारीमाथि कारबाही गरेको छ । आयोगले कारबाही गरेको राष्ट्र सेवकमध्ये सबैभन्दा बढी शाखा अधिकृत र नायब सुब्बा सरहका कर्मचारी छन् ।

आयोगले गत आव २०७६र७७ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत वर्ष १८१ वटा घुस लिएको उजुरीको आधारमा रङ्गेहात पक्राउ ‘स्टिङ’ गरेको थियो । जसमा २७७ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभएको छ । उक्त ‘स्टिङ’मा २०८ जना राष्ट्रसेवक परेका हुन् । जसमध्ये ११० जना अप्राविधिक र ४४ जना प्राविधिक तथा ४८ जना प्रहरी छन् ।

प्रहरी बढी कारवाहीमा

विधागत रुपमा सबैभन्दा बढी कारबाहीमा परेको प्रहरी सङ्गठनका छन् । चालक अनुमति पत्र नभएकासँग घुस लिने, मुद्दा मिलाउने नाममा घुस लिने प्रवृत्तिका मुद्दाहरूमा प्रहरीको संलग्नता देखिएको आयोगले जनाएको छ ।

आयोगको वार्षिक गतिविधि केलाउँदा विकास निर्माणमा पेश्की फर्छयौटका लागि भुक्तानी दिँदा कमिसन माग गरेको आधारमा स्थानीय तह तथा अन्य पूर्वाधार निर्माण अड्डाका कर्मचारीहरू घुससहित पक्राउ परेर आयोगको कारबाहीमा परेका छन् । गत आवमा २९६ दिन कार्यालय सञ्चालन भएको थियो । प्रतिदिन करिब एक जना व्यक्ति घुस लिएको कारबाहीमा परेका छन् ।

आयोगको प्रतिवेदन अनुसार १३ जना उपसचिव स्तरका कर्मचारी, ५३ जना शाखा अधिकृत वा सो सरहका, ६९ जना नायब सुब्बा, २७ जना खरिदार र २८ जना जुनियर कर्मचारी घुससहित पक्राउ परेका छन् । १६ जना कार्यालय सहयोगीलाई आयोगले घुससहित पक्राउ गरेको दाबी गरेको छ । छ जना शिक्षक र एक अदालतमा कार्यरत कर्मचारीसमेत अख्तियार दुरुपयोग गरेको आरोपमा कारबाही भोगेको उल्लेख गरिएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अनियमिततामा संलग्न १४ जना निर्वाचित तथा मनोनित पदाधिकारीमाथि समेत कारबाही गरिएको छ । घुस लेनदेनमा ५५ जना बिचौलीयाको संलग्नता देखिएको खबर आजको गोरखापत्रले छापेके छ ।



प्रतिक्रिया दिनुहोस्