Logo

क्वारेन्टाइनमा युवक मृत फेला



लमजुङ, ३ साउन । लमजुङको क्वारेन्टाइनमा एक युवक मृत अवस्थामा फेला परेका छन् । क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ चिसापानीको बुद्धोदय माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका युवक शुक्रबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी क्व्होलासोंथर गाउँपालिका ६, पसगाउँका २३ वर्षीय युवक हुन् । प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले युवक मृत अवस्थामा भेटिएको र अनुसन्धान थालेको बताउनुभयो ।

उहाँका अनुसार युवक असार ३१ गतेबाट क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेको दुई दिनमै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रनाउ थापाका अनुसार ती युवकले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उहाँले भन्नुभयो, ‘युवकले पासोमा झुण्डिएर मरेको जस्तो देखिन्छ । खास कारणबारे हामीले अनुसन्धान थालेका छौँ ।’

क्व्होलासोंथर गाउँपालिका(९ का अध्यक्ष नन्दजङ गुरुङका अनुसार बुटवल दिदीको घरमा बस्दैआएका उनी पोखरा हुँदै पसगाउँ आएका थिए । पसगाउँ आएको असार ३१ गतेकै दिन क्वारेन्टाइनमा राखिएको थियो । उक्त क्वारेन्टाइनमा उनी एक्लै रहेको र बिहान हेर्न जाँदा मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । उक्त घटनापछि स्थानीयले विद्यालयमा क्वारेन्टाइन हटाउन माग गरेका छन् । उक्त क्वारेन्टाइनमा यसअघि दुई जना बसिसकेका छन् । क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ वडाका नागरिकलाई लक्षित गरी बुद्धोदय माविमा आठ बेडको क्वारेन्टाइन निर्माण गरेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्