बाँके, साउन ३ । सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यालयले कोहलपुर नगरपालिका–४ (साविक रझेना–३) स्थित ६ बिघा पर्तीरऐलानी जग्गा हचुवामा बाँडेको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको ७७, ७८ र ७९ कित्ता नम्बरको जग्गा ४१ जनालाई पहुँचका भरमा जग्गा वितरण गरिएको हो ।
आयोगले ०६९ फागुन २३ गते साविक रझेना–३ का कित्ता नम्बर ८२ देखि १९४ सम्म वितरण गरेको थियो ।
तीनतले घर भएका स्थानीय विष्णुकुमार अर्यालले छोरा, धर्मपुत्रतर्फकी बुहारी, ज्वाइँ र बहिनीज्वाइँसमेतका नाममा जग्गा दर्ता गराएको भेटिएको छ । दुईपटक गरेर आयोगले उनको परिवारलाई २१ कट्ठा जग्गाको लालपुर्जा दिएको छ । अर्यालले पहिलोपटक ०५२ सालमा राजमार्गबाट उत्तरपट्टिको कित्ता नम्बर ११८ रहेको १ कट्ठा जग्गा प्राप्त गरेका थिए । उक्त जग्गामा उनले घर बनाएका छन् । अर्याल र उनका परिवारका सदस्यले दोस्रोपटक राजमार्गभन्दा दक्षिणको जग्गा पाएका छन् ।
मालपोत कार्यालयको स्रेस्तामा उल्लेख भएअनुसार अर्यालका नाममा रहेको १३ नम्बर कित्तामा मात्रै ५ कट्ठा छ । उनका छोरा युद्धजंगका नाममा ५ कट्ठा छ । अर्यालकी धर्मपुत्र बुहारी विजया भट्टराईका नाममा ५ कट्ठा देखिन्छ । अर्यालका ज्वाइँ सन्तोष बीसीका नाममा २ कट्ठा र बहिनीज्वाइँ रामजी क्षत्रीका नाममा ३ कट्ठा जग्गा दर्ता रहेको मालपोतको स्रेस्तामा उल्लेख रहेको आजको कान्तिपुर दैनिकमा खवर छ ।