काठमाडौं, ३ साउन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बजेटले हतोत्साही भएको बेलामा मौद्रिक नीतिले राम्रो फिल भएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘मौद्रिक नीतिले राम्रो प्रभाव दिने हामीले फिल गरेका छौं ।’ उनले मौद्रिक नीतिमार्फत बैकिंङ सेवा शुल्क घटाईएको विषयलाई आफूहरुले सकारात्मक रुपमा लिएको स्पष्ट पारे । उनले भने,‘यो धेरै राम्रो विषय हो ।’
उनले मौद्रिक नीति समयसापेक्ष ल्याएकोमा गभर्नर अधिकारीलाई धन्यवाद दिनैपर्ने पनि बताए । यद्धपी उनले मौद्रिक नीति असारमै ल्याएको भए अझै धेरै राम्रो हुनेथियो भन्ने धारणा राखे । उनले मौद्रिक नीतिमा उद्योग वाणिज्य महासंघले अघि सारेका सुझावहरुसमेत परेको प्रतिक्रिया दिए । उनले नीति राम्रो आएकोले यसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।