Logo

नेपाल टेलिकमले विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने, यी हुन अरु सुविधा



काठमाडौं, ३ साउन । कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर विभिन्न सुविधा जारी राखेको छ । कम्पनीले आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ । त्यस्तै, कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि यस्ता महशुलमा नियमानुसार बिलम्ब शुल्क लागु हुने पनि टेलिकमले जनाएको छ ।

यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दर ९एबथ ब्क थ्यग न्य० मा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागु हुने पनि टेलिकमले जनाएको छ । भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहने उसले जनाएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ,‘नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच मिति २०७४ बैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौता अनुसार भूकम्प प्रभावित ४ जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानहरुमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो । ती स्थानहरुलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानहरुमा २०७६ चैत्र २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सुचारु गरिएकोमा जेठ ३० गतेदेखि लागू हुनेगरी पुनः २ महिना निस्शुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।’

यसैगरी कम्पनीले एफटिटीएच (ँत्त्ज्) सेवाको मर्मत सम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट शुरु गरेको जनाएको छ । एउटै लाइनबाट फोन, डाटा र टिभी सेवा समेत उपलब्ध गराउन सकिने एफटिटीएच सेवाको मर्मत सम्बन्धी सिकायतका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये ४ नम्बर थिची बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिधै अप्रेटरलाई गुनासो टिपाउन सकिने पनि कम्पनीले जनाएको छ ।

लकडाउनको अवधिमा कम्पनीका भ्वाइस र डाटा सेवाप्रति ग्राहकहरुको आकर्षण र सोही अनुसार उपयोगमा वृद्धि भएको तथा हाल एफटिटीएच सेवामार्फत उपलब्ध हुने डाटा सेवाको मागमा समेत वृद्धि भइरहेको अवस्थामा सो सेवाको गुनासो व्यवस्थापनबाट ग्राहकहरु थप लाभान्वित हुने टेलिकमले विश्वास लिएको छ ।



प्रतिक्रिया दिनुहोस्