काठमाडौं, ३ असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद अझै समाधान हुन सकेन । आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वन टु वन वार्ता बसी सचिवालय बैठक बस्दा पनि सहमति ननिस्किएको हो ।
अध्यक्षद्वयबीचको छलफल सहमति नजिक पुगेको भन्ने खबरहरु आइरहँदा प्रचण्डको सचिवालय समेतको जिम्मेवारी सम्हालेकी छोरी गंगा दाहालले त्यसको खण्डन गरेकी छिन् । उनले कुनैपनि विषयमा सहमति नभएको बताइन् ।
फेसबुकमा आजको बैठकबारे जानकारी दिदै गंगा दाहालले लेखेकी छिन्, ‘सहमति खोज्ने क्रममा विभिन्न विषयहरुमा छलफल भएता पनि कुनैपनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं ।’ उनले महाधिवेशन लगायतमा छलफल भएको खुलाइन् ।
यसअघि सचिवालय बैठकमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मंसिरभित्र महाधिवेशन गर्ने गरी प्रस्ताव गरेका थिए । उनले तत्काल पद त्याग नगर्ने तर महाधिवेशनपछि पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने गरी सहमति निकाल्न खोजेका थिए । तर, प्रचण्डलगायत उनको समुहका नेताहरुले त्यसलाई स्वीकार नगरिसकेको बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार ओलीले मन्त्रिमण्डल पुर्नगठन, सरकार सञ्चालनको संयन्त्र गठन, पार्टी पुर्नगठनलगायतको प्रस्ताव राखेका थिए । तर, प्रचण्ड त्यसमा अझै सहमत हुन सकेका छैनन् ।