काठमाडौं, साउन ४। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीमा व्याप्त संकटलाई आपसी संवाद र सहमतिमा नै टुंगोमा पुयाउनुपर्ने निचोड निकालेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न नेपाली समाजको आवश्यकता र जनादेशअनुरूप अघि बढ्ने गरी नयाँ प्रस्ताव तयार गर्नुपर्ने विषयमा छलफल अघि बढाउने निर्णय गरेको हो ।
बैठकले पार्टीको आन्तरिक समस्या र संकटलाई सहमतिका आधारमा संवोधन र समाधान गर्ने गरि आवश्यक गृहकार्यलाई समेत जारी राख्ने निर्णय गरेको छ ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सहमति गरेर अघि बढ्नुपर्ने र नमिलेका विवादका विषय एकता महाधिवेशनबाटै टुंगो लगाउनुपर्ने भन्दै एकता महाधिवेशन आगामी मंसिरमा गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको सो प्रस्तावलाई अन्य शीर्ष नेताहरुले सकारात्मक रूपमा लिए पनि उनीहरु आश्वस्त हुन नसकेको बताइएको छ ।
सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय उठान गरेनन् । सचिवालय बैठक निकै सौहार्दपूर्ण रूपमा सञ्चालन भएकाले धेरै विवाद मत्थर हुने क्रममा पुगेको आजको राजधानी दैनिकमा खवर छ ।