काठमाडौँ, ४ साउन । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न भएको असहज परिस्थितीका कारण विदेशमा अलपत्र परेका मध्ये शुक्रबारसम्म हवाई मार्गबाट २९ हजार ७ सय ८९ नेपाली स्वदेश फर्केका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीका अनुसार सरकारले जेठ २९ देखि खुला गरेको अलपत्र नेपालीलाई चार्टर उडानमार्फत उद्धार गर्ने क्रममा शुक्रबारसम्म भएका १ सय ९२ वटा उडानबाट २९ हजार ७ सय ८९ नेपाली काठमाडौं ओर्लिएका हुन् ।
यी नेपाली अफगानस्थान,अस्ट्रेलिया,ओमन,कतार,म्यानमार,कुवेत,जापान,थाइल्याण्ड,दक्षिण कोरिया,बंगलादेश,मलेसिया, माल्दिभ्स,श्रीलंका,यूएई,साउदी अरेबिया,सिंगापुर,हङकङ,पाकिस्तान,बहराइन, अमेरिका,बेलायत, इजरायल,चीन,टर्की र फिलिपिन्सबाट तथा यी मुलुक हुँदै नेपाल आएको सीसीएमसीले जनाएको छ ।
सबैभन्दा धेरै नेपालीको उद्धार भएका प्रमुख ५ वटा मुलुकमध्ये यूएईबाट ६८ सय ७२, कुवेतबाट ५५ सय ४९, साउदी अरेबियाबाट ४७ सय ८७, मलेसियाबाट ३२ सय २६ र कतारबाट ३ हजार २७ नेपालीलाई स्वदेश फर्काइएको थियो । श्रम गन्तव्यबाहेक यहि अवधिमा अमेरिकामा अलपत्र परेका ४ सय २३, बेलायतबाट २ सय २९ र चीनबाट १ सय ५ नेपाली पनि स्वदेश फर्किएका छन् । विदेशबाट फर्किनेमा सबैभन्दा धेरै वागमती प्रदेशका ८ हजार ६ सय २७ छन् भने सबैभन्दा कम कर्णाली प्रदेशका ६ सय ६८ छन् । यी उद्धार उडानबाट कारोना बाहेक अन्य विभिन्न कारणले विदेशमा मृत्यु भएका १ सय ७३ वटा नेपाली नागरिकको शव पनि ल्याइएको छ ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले चैत ९ गतेदेखि व्यवसायिक अन्तर्राष्ट्रिय उडान रोकेको छ । तर त्यसयता मन्त्रालयको अनुमतिबाट चार्टर र उद्धार उडानलाई अनुमति दिँदै आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार चैत ११ यता शुक्रबारसम्म ४ सय ३२ वटा उडान भइसकेका छन् । ती उडानबाट ३० हजार २ सय ६७ यात्रु तथा ५२ जना शिशु नेपाल आइपुगेका छन् । त्यस्तै, काठमाडौंबाट १५ हजार ६ सय २५ यात्रु तथा २ सय ७७ शिशु विदेशतर्फ उडेको विमानस्थलको तथ्याङमा देखिन्छ ।
यो चार महिनाको अवधिमा हवाईजहाजबाट मेडिकल सामाग्री लगायत ६ लाख ६२ हजार किलोग्राम कार्गो भित्रिएको छ । त्यस्तै, नेपालबाट यो अवधिमा कृषिजन्य तथा अन्य ६ लाख ६० हजार किलोग्राम नेपाली उत्पादन विदेशतर्फ निर्यात भएको समाचार आजको कान्तिपुरले प्रकाशन गरेको छ ।