Logo

ओलीका अस्त्रहरु घेराबन्दी तोड्न विफल, अब के होला ?



काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र घेराबन्दीमा छन् । उनको राजीनामा माग्दै नेकपाका शक्तिशाली नेताहरु एकजुट भएका छन् । उनीहरुको घेराबन्दीलाई तोड्न ओलीले भरमग्दुर प्रयास गर्दै आए । तर, त्यो घेरा तोड्न उनी सफल हुन सकेका छैनन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतम ओलीको राजीनामामा टसमस भएका छैनन् । अहिलेसम्मको स्थितिमा सचिवालयका ९ मध्ये ६ जना ओलीको राजीनामा माग्ने पक्षधरमा छन् । जसलाई छिन्नभिन्न पार्न ओलीले धेरै प्रयास गर्दै आएका छन् ।

ओलीले सचिवालयका नेताहरुलाई आफ्नो पक्षमा पार्न अनेकन आश्वासनहरु दिदै आए । यसअघि दिएका आश्वासन पूरा नभएकोमा असन्तुष्ट नेताहरुले यसपटकको आश्वासनमा शंका व्यक्त गरे । यसलाई फुटाऊ र राज गरेको रणनीतिका रुपमा बुझेर सजग भए ।

ओलीले मंसिरमा महाधिवेशन गरी प्रचण्डलाई पार्टीको एकल अध्यक्ष बनाउने प्रस्ताव गरे । यसमा प्रचण्ड लचिलो भएका थिए । तर, महाधिवेशन मंसिरमा गर्न कोभिड १९ ले सम्भव नभएको निष्कर्षसहित प्रचण्ड गम्भीर भए । त्यसमाथि माधवकुमार नेपालले ओली र प्रचण्डको सहमतिले मात्र नहुने भन्दै प्रशन उठाए । यसरी प्रचण्डलाई सहमतिमा ल्याउन ओलीले फालेको अस्त्र विफल भयो । आज खुमलटारमा बैठक बसी ओलइतरका नेताहरुले राजीनामाको माग यथावत् रहेको स्पष्ट पारे ।

विरोधीको घेरा तोडुन ओलीले निकटस्थ पठाएर र आफै भेटेर माधव नेपाललाई तेस्रो वरियताको अध्यक्ष देखि सरकार सञ्चालनको संयन्त्रको निर्देशक बनाउने आश्वासन दिए । तर, नेपाल कुनैपनि प्रस्तावमा सहमत भएनन् । उनी राजीनामाको मागमा अडिग गरे ।

बामदेव गौतमलाई राष्ट्रियसभामा लगेर सरकारमा सहभागी गराउने देखि भविष्यमा प्रधानमन्त्री बनाउन सहयोग गर्ने आश्वासन दिए । तर, गौतम पटक पटक धोका खाइसकेकाले लचिलो भएनन् ।

ओलीले घेराबन्दी तोड्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेतको सक्रियता खोजे । भण्डारीले उनले भनेबमोजिम चालेका कतिपय कदमहरुलाई धमाधम अनुमोदन मात्र गरिनन् राजनीतिक सक्रियता पनि देखाइन् । नेकपाका प्रभावशाली नेताहरुलाई शितलनिवास बोलाएर छलफल गरिन् । उनीमाथि राष्ट्रपति पार्टीको झगडा मिलाउने निकायका रुपमा देखिएको भन्दै आलोचना समेत भयो ।

नेकपा विवाद मिलाउन चिनियाँ राजदुत होउ यान्छी सक्रिय भएको सतहमै देखियो । विवाद उत्कर्षमा पुगदा राजदुत यान्छीले राष्ट्रपति भण्डारी देखि नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई निवासमै पुगेर भेटिन् । उनको यो कदम ओलीको हितमा रहेको विषय उठ्यो । यसअघि पनि ओलीको राजीनामा माग हुँदा यान्छीकै सक्रियताले असफल भएको थियो । यसपटक पनि उनलाई सक्रिय हुने परिस्थिति बनाइएको विषय चर्चामा छ ।

यसरी ओलीले पार्टीभित्र र बाहिरको घेराबन्दी तोड्ने एकपछि अर्को अस्त्र फालिरहेका छन् । तर, ती अस्त्र एकपछि अर्को गर्दै विफल भइरहेका छन् । ओलीले अझै पनि हरेस खाएका छैनन् । दरिलो आत्मबलका उनी अन्तिम समयसम्म राजीनामा नदिई सबै चुनौतीको सामना गर्ने तयारीमा छन् । यसले नेकपाभित्र टकराव अझै बढ्दै जाने संकेतहरु देखिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot