Logo

‘सरकारमा बस्नेहरु सत्ता र शक्तिमा पूरै लडाईँ गरेर जात्रा देखाइरहेका छन्’–चित्रबहादुर केसी



राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन नेताहरु तयार हुनु राम्रै भएको प्रतिक्रिया दिएका छन् । आइतबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले भने,‘नेकपाभित्रको यत्रो विश्वास गरेर देशमा सुशासन देलान्, भ्रष्टाचारको अन्त्य गर्लान्, विदेशीको हस्तक्षेपको सामना गर्लान् नेपाली जनताले जो आशा भरोसा गरेका थिए, त्यो त निराशामा परिणत गरिराखेका छन् । आफु आफु लडालड, मारामार, महाभारत मच्चाइराखेका छन् । त्यसो हुनाले समाधान भएको त राम्रै हो ।’ प्रस्तुत छ केसीसँग धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिल्यो । निष्कर्ष निकाल्न नेताहरू तयार भए भनिएको छ । के हुन्छ अब ?

मिलेको त नराम्रो भयो र ? राम्रै भयो ।

मिलेको राम्रो हो । तर, नीतिगत रूपमा भएन भनेर असन्तुष्टि पनि बाहिर आएको छ नि । प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको प्रस्ताव राख्नुभयो, हिजो प्रचण्डले समर्थन गर्नुभयो तर माधवकुमार नेपालले मान्नुभएको छैन् ?

नेताभित्रको गाईजात्रा पनि त छ ।

अब गाईजात्रा पनि आउँदैछ छ नि ? 

नेकपाभित्रको यत्रो विश्वास गरेर देशमा सुशासन देलान्, भ्रष्टाचारको अन्त्य गर्लान्, विदेशीको हस्तक्षेपको सामना गर्लान् नेपाली जनताले जो आशा भरोसा गरेका थिए, त्यो त निराशामा परिणत गरिराखेका छन् । आफु आफु लडालड, मारामार, महाभारत मच्चाइराखेका छन् । त्यसो हुनाले समाधान भएको त राम्रै हो ।

नेकपाभित्रको विवाद समाधान होला कि नहोला ?

मैले जान्ने कुरा होइन नि ।

होईन, तपाईले देखेको सम्भावना के छ ?

खोइ त्यस्तो म भन्न सक्दिन् । गुट/उपगुट छ, सिद्धान्तको लडाई होइन । जनताको हित कसरी गर्ने भन्ने कुराको लडाई होइन । पद, प्रतिष्ठा र अवसरको लडाई हो । त्यसो हुनाले भन्न सकिन्न ।

तर, बरिष्ठ नेता माधवकुमार नेपालले ओली र प्रचण्ड मिल्नेबित्तिकै समस्याको समाधान हुँदैन् भनिसक्नुभयो नि ?

पार्टी एकीकरण गर्ने कुरामा कुनै सैद्धान्तिक छलफल नगरीकन, सांगठनिक छलफल नगरीकन चुनावमा सफलता पाउनको लागि दुईजना अध्यक्षले जे गर्नुहुन्छ, पार्टीले दुईजना अध्यक्षको जिम्मा लगाएपछि यसको परिणाम त अहिले आइहाल्यो नि । दुईजना नमिल्नेबित्तिकै त्यहाँ गडबढी सुरु भइहाल्यो । सिद्धान्तका आधारमा, संगठनिक पद्धतिका आधारमा सबै कुरा मिलाएर पार्टी एकीकरण भएको हो र ? दुई जना अध्यक्षबीच कुरा मिलेर गएकै होइन ?

समस्या जटिल छ । देशमा धेरै समस्याहरू छन् । नेपाल कम्युनिष्ट पार्टीभित्रको झगडाले राष्ट्रिय राजनीति तातेको छ । मल खरीदमा ४८ करोड घोटाला भयो । किसानहरूले मल पाएका छैनन् । देशभरि, प्रदेश सरकारले किन काम गर्न सकेन ?

राजनीति गर्ने भनेको कमाउन हो भन्ने भएपछि त औषधी किन्दा घोटाला हुन्छ । पदमा राख्दाखेरि आफ्ना मान्छे राख्नुपर्ने हुन्छ । त्यसो हुनाले जनतालाई केन्द्रमा राखेर राजनीति गर्दा सुशासन हुन्छ । ठेकेदार, भ्रष्टचारी, शैक्षिक माफियाहरूको सहयोग लिएर कम्युनिष्ट पार्टी चलाउने भएपछि यस्तै हुन्छ ।

मलाई आज बिहानै जाजरकोटबाट फोन आयो । जाजरकोटका जनताले हामीले खान पाएका छैनौँ र खाद्यान्न संकट छ भनेर भन्नुभयो । यस्तो छ देशको अवस्था ?

कोरोनाले नेपाली जनता आकुलव्याकुल भएका छन् । जाजरकोटमा मात्र होइन, तराईमा कति मान्छे मरे खान नपाएर, पहाडमा मरिरहेका छन्, हिमालमा त्यस्तो बिजोक छ । पहिरोले मान्छेको बिचल्ली छ । नेकपाभित्रका आठ लाख छन् रे, पार्टी सभापति । यो आठ लाख पार्टी सभापतिले जनता जुन त्यहाँ आतंकित छन्, उनीहरूले दुःख पाएका छन्, त्यहाँ सहयोग गर्न जाने भन्दा नेकपाभित्र अध्यक्ष को हुने, प्रधानमन्त्री को हुने, मुख्यमन्त्री को हुने, प्रदेश कसले चलाउने, पार्टी कसले कब्जा गर्ने, पद कसले कब्जा गर्ने भन्ने यो जग बसाइरहेका छन् । दुःख पाएका जनताहरूप्रति ध्यान गएकै छैन । सत्ता र शक्तिको लागि आफुभित्रै लडाँइ भइराखेको छ । यस्तो बेलामा जनताका पीर मर्का, जनताका समस्या बुझ्ने त फुर्सद नै छैन ।

जताततै संकट र समस्या छ । भारतमा नेपालीहरू बिचल्लीमा परेका छन् । कामदारहरू त्यहाँ काम नपाएर रोइरहेका छन् । अब के होला ? देश यस्तो भयावह स्थितिमा छ । नेताहरू झगडामा छन् पदको लागि ।

ओलीजीले अयोध्या नेपालमा पर्छ भन्नेबित्तिकै भारतमा नेपालीहरूलाई केही निहुँ पारेर ज्यादती गरेका छन् । हिजोमात्र मेरो सम्पर्क भएको थियो, साथीहरूसँग । ठाउँठाउँमा भारतमा त्यहाँ गुण्डाहरूले नेपालीहरूलाई गर्नसम्म गरिराखेका छन् । त्यतातिर सरकारको ध्यान गएको छैन । सरकार यो सत्ता र शक्तिमा पूरै लडाँइ गरेर जात्रा देखाइरहेका छन् । त्यसकारण यो स्थितिको अन्त्य गर्नुपर्छ ।

मैले प्रदेशको कुरा पनि तपाईलाई गरिरहेको छु । प्रदेश सरकारको कुरा गरिरहँदा संघीय सरकारको कुरा आउँछ । हाम्रो देशमा प्रदेशमा पनि मनलाग्दी खर्च हुन थालेको छ । असारे विकासका नाममा एकै महिनामा ६१ अर्ब खर्च भएको छ ।

नेपाली जनताको समृद्धिको लागि, नेपालको विकास गर्नका लागि भनेर गीत गाउँथे त संघीयताको बारेमा । आज कोरोनाको औषधी नपाएर, बाढी पहिरो पीडित, खुल्ला आकाशमुनि दुःख पाएर बसिराखेका छन् । उनीहरूको समस्या के हो भन्ने भन्दा पनि कतिपय स्थानीय निकायमा पनि एउटा गाउँपालिकाको अध्यक्षले त्यो गाउँपालिकाको बजेट परे बापत २ लाख लिएको रे पारिश्रमिक भनेपछि सिंहदरबारको अधिकार गाउँमा, प्रदेशमा लग्नको लागि संघीयता भनेर चिच्याउँथे । अब भ्रष्टचार जस्ताको तस्तै यस्तो बेलामा नेपाली जनताको यति बिचल्ली परेको बेला, आपतविपद् परेको बेलामा प्रदेशका कतिपय सांसद्हरू आफ्नो सेवा सुविधा बढाए । प्रदेशमा करोडौँको बेरुजु आएको छ । त्यसकारणले यो राम्रो संकेत होइन । संघीयताको जुवा बोकाइदिएपछि त सम्पूर्ण नेपाली जनताको लागि खर्च गर्ने पैसा जनप्रतिनिधिहरू, नेताहरू, कार्यकर्ताहरू, गाडी किन्ने, सेवा सुविधा लिने, बैठक भत्ता लिने, जनताको बिचल्ली परेको परेकै छ । त्यसकारणले राष्ट्रिय जनमोर्चाले संघीयताको औचित्य छैन । प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ, संघीयता खारेज गर्नुपर्छ भनेकै त्यही कारणले हो ।

संघीयता खारेज गर्नलाई कोही पनि तयार छैनन् । संघीयता खारेज भयो भने हाम्रो देश दुर्घटनामा जान्छ भन्छन् ।

संघीयता सफल पार्नको लागि सार्वभौमसत्ता सम्पन्न भयो भने संघीयता पूर्ण सफल हुन्छ । कुनै उद्देश्यले संघीयता बोकाएका हुन् र यिनीहरूले बोकेका हुन् । मैले त पहिलेदेखि भनिरहेको छु ।

त्यसोभए अहिलेको अवस्थामा हाम्रो देशमा संघीयताले विकास गरेन ? समृद्धि गरेन ?

पहिले पहिले काठमाडौले हामीलाई अधिकार दिएन, विकास गर्न सकेनौँ भन्थेँ । महोत्तरीको जेलखानाको अवस्था देखिएको छ । नेपालमा राजनीति गर्ने भनेको नेताहरूले सत्ता र शक्ति कमाउनको निम्ति देश लुट्नुपर्ने अनि जनताको बिजोक छ, एउटा मन्त्रीमण्डल, एउटा संसद् चलाउन त हामीलाई कुन महाभारत भएको थियो, अहिले अब आठ ठाउँ संसद्, आठ ठाउँ मन्त्रीहरू अनि तिनका सेवा सुविधा, अनि नेपाल रहन्छ ? संघीयताले समृद्धि हुन्छ कहीँ ? त्यसो हुनाले संघीयता खारेज गर्नु जनताको त आवश्यकता भई नै हाल्यो । संघीयता खारेज हुनुपर्छ भन्ने नेपालको आवश्यकता आयो ।

खारेज कसरी होला ? हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र छ । गणतन्त्रले गर्दाखेरि संघीयतालाई बचाउनु आजको आवश्यकता हो ।

पञ्चायत कसरी खारेज भएको थियो, राजतन्त्र कसरी खारेज भएको थियो, राणातन्त्र कसरी खारेज भएको थियो, जनताले खारेज गर्छन् त्यहाँ ।

नेटवर्किङ मार्केटमा पुरानै गिरोह सञ्चालन भएछ अब ।

यहाँ गणतन्त्र आए पनि, लोकतन्त्र आए पनि जुन पार्टी भने तापनि गिरोह त जतिखेरै सक्रिय छ । देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डतामाथि लुटपाट गर्ने संयन्त्र त कायमै छ । ओड दिने भएपछि त्यस्ता षड्यन्त्र, धन्दा त चलि नै रहन्छन् । के फरक परेको छ र यहाँ गणतन्त्र आएर नेपाली जनतालाई ?

अब हाम्रो देशको राजनीति कता जान्छ ?

गणतन्त्रलाई ध्वस्त पार्न, धर्मनिरपेक्षलाई ध्वस्त पार्न, नेपाली जनताले प्राप्त गरेका जो उपलब्धिहरू छन्, ती सबै ध्वस्त पार्नको लागि देशी, विदेशीहरू लागीनै राखेका छन् । देशको सार्वभौमिकता, अखण्डता रक्षा गर्ने, यो कोरोनाले पीडित जनताहरू, बेरोजगारहरू, लाखौँ विदेशबाट फर्किएर आएका जनताहरूको समस्या कसरी समाधान गर्ने ? भन्दा पनि सत्ता र शक्तिको लागि जुन लडाँइ गरिराखेका छन्, जुन झगडा गरिराखेका छन्, जुन मारामार गरेर संसार हँसाइराखेका छन् । नेपाली जनताका दुश्मनहरूले यो उपलब्धिलाई खतम पार्दिन्छन् भन्ने खेल हुन सक्छ । यो खतरनाक अवस्था देखिरहेको छु मैले । file photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot