Logo

ओलीको प्रस्तावले प्रचण्ड संकटमा



काठमाडौं, साउन ५ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अगाडि सारेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संकटमा परेका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडान लिँदै आएका प्रचण्डले महाधिवेशन गर्ने प्रस्तावप्रति नरम भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल सशंकित बनेका हुन् ।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विषयबाट शुरु भएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव सकारात्मक भएको बताइएको थियो ।

तर, आइतबार प्रचण्डले आगामी मंसिरमा अध्यक्ष केपीहर्मा ओलीदे महाधिवेशनको प्रस्ताव गरे पनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको बताएका छन्। प्रचण्डले ओली र आफ्नो बीचमा कुनै सहमति नरहेको आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा बताएका हुन् ।

प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने– ‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन, यसमा मेरो सहमति छैन । यो कार्यान्वयन पनि सम्भव छैन ।’ तर शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने समझदारी भएको बताइएको छ । ओली प्रचण्डबीच भएको समझदारीको वरिष्ठ नेता माधवकुमार नेपालले चर्को आलोचना गरेका थिए ।

पछिल्लो समयमा प्रचण्डलाई साथ दिँदै आएका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रचण्डले ओलीसँग कुनै समीकरण नबनेको कुरा स्पष्टीकरण दिएको आजको नेपाल समाचारपत्र दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्